जेठ, २२ काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएसँगै शासकीय स्वरूपमा परिवर्तन हुन सक्ने खुलासा गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ४ ले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानसभाकै कार्यकालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बन्ने विषयमा सहमति भएको दाबी गरे ।

दोस्रो संविधानसभा निर्वाचनले शक्ति सन्तुलन तलमाथि गर्दा त्यसतर्फ जान नसकिएको उनले प्रस्ट्याए । ‘पहिलो संविधानसभा निर्वाचनमा हामी पहिलो थियौँ, दोस्रोमा कांग्रेस ठूलो भयो, शक्ति सन्तुलन तलमाथि हुँदा हामीले पनि केही छोड्नुप-यो,’ उनले भने, ‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी पक्षधरको पार्टी एकता भएको छ, त्यसमाथि यही एजेन्डामा रहेको मधेसी दलसमेत सरकारमा सामेल भएपछि सहज हुनेछ ।’

प्रचण्डले शासकीय स्वरूप परिवर्तनका लागि पार्टीमा एक खालको सहमति रहे पनि तत्काल भने स्वरूप परिवर्तन नगरिने प्रस्ट्याए । अबको पाँच वर्ष विकास निर्माणमै जोड दिइने भएकाले विकासको एजेन्डालाई यो मुद्दाले ‘डाइभर्ट’ गर्ने भएकाले अहिले नै आफूहरूले नचाहेको उनको भनाइ थियो । ‘हामी तत्कालै शासकीय स्वरूप परिवर्तन गरिहाल्ने भनिरहेका छैनौँ,’ उनले भने, ‘यसमा पनि भ्रम नरहोस्, यो पाँच वर्षपछिको निर्वाचनको एजेन्डा बन्ने हो, निर्वाचनको एक महिनाअगाडि मात्र यसलाई बहसमा ल्याइनेछ ।’

नेकपा गठनअगाडि माओवादी केन्द्रको एजेन्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एमालेको एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री हो । त्यसैगरी, संघीय समाजवादी फोरमको एजेन्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो । अहिले एमाले र माओवादीको एकता भएर नेकपा गठन भएको छ । संघीय समाजवादीसमेत सरकारमा सामेल छ । प्रचण्डले निर्वाचित कार्यकारी प्रमुख प्रधामन्त्री या राष्ट्रपति भन्ने खुलाएनन् । सबै प्रत्यक्ष निर्वाचित कार्यकारी पक्षधर एकै ठाउँमा रहेको मात्रै उनले स्मरण गराए । ‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षपाती अहिले सबै एकै ठाउँमा छौँ,’ उनले भने ।

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ मा नयाँ सरकार बन्ने संकेत गरे । सात प्रदेशमध्ये ६ वटामा नेकपा नेतृत्वको सरकार रहेकामा कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादव नेतृत्वको दल नै सरकारमा आएपछि त्यहाँ पनि आफूहरूकै सरकार बन्ने उनले बताए । ‘तराईको भूगोलले आफूहरू उपेक्षित रहेको महसुस् नगरोस् र असन्तुष्टि जनतामा नआओस् भनेरै हामीले फोरमलाई सरकारमा ल्याएका हौँ,’ उनले भने ।

प्रचण्डले नेपालमा भएको पछिल्लो कम्युनिस्ट एकीकरणले विश्वमा कमजोर बन्दै गएको कम्युनिस्ट आन्दोलनलाई नै आशा जगाएको दाबी गरे । कम्युनिस्टहरूले निर्वाचनमार्फत जनताको मन जित्न सक्छन् भन्ने आफूहरूले विश्व जगत्मा देखाउन सफल भएको उनले बताए ।

अब राम्रो काम गर्नुको विकल्प छैन
दुईतिहाइ बहुमतको सरकारले जनताको मन जित्ने गरी काम गर्नुको विकल्प अब आफूहरू सामुन्ने नरहेको अध्यक्ष प्रचण्डले बताए । ‘यताउता देखाउन पाइन्थ्यो, जनतासँग पनि आफूहरूलाई बहुमत नदिएको गुनासो गर्न पाइन्थ्यो,’ उनले भने, ‘अब यो वा त्यो बहाना देखाउने ठाउँ छैन, कम्युनिस्ट सरकारले यस्तो अवस्थामा पनि जनतालाई काम गरेर देखाउन सकेन भने कहिले देखाउने, त्यसैले अब काम गर्नुको विकल्प हामीसँग छैन ।’ नयाँपत्रिका बाट साभार ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्