पोखरा, २८ माघ २०७६ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले फागुन १ गतेदेखि ३ गतेसम्म पोखरामा बृहत साँस्कृतिक महोत्सव २०७६ आयोजना हुने भएको छ ।

लोक साँस्कृतिकको राजधानी पोखरा महानगरपालिका वडा नं १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने बृहत लोक साँस्कृतिक महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन समारोहको प्रमुख आतिथ्यता र सामाजिक विकास मन्त्री नरदेवी पुनले समापन समारोहको प्रमुख आतिथ्यता गर्नु हुने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

गण्डकी प्रदेशका लोक सँस्कृतिको संरक्षण र संर्वद्धन, गीत संगीतको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रचार प्रसार गर्ने, प्रदेश भित्रका अग्रज लोक श्रष्टालाई सम्मान तथा नव प्रतिभाको प्रोत्साहन र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको कलाकार कल्याणकारी कोष अभिबृद्धि गर्ने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको प्रतिष्ठानका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उक्त महोत्सवमा गण्डकी प्रदेशको माटोमा गुञ्जिने सालैजो, यानीमाया, सोरठी, झ्याउरे, कर्खा, कौडा, अबिजालेमाया, शिरफुलेमाया, भजन, रत्यौली, पञ्चैबाजा, ठाडो भाका, रोइला लगायत विभिन्न जातिय लोक सँस्कृतिक प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा स्रष्टा सम्मान २०७६ बाट अग्रज गायक प्रेमराजा महत, विमल राज क्षत्री, राष्ट्रिय बाल प्रतिभा पुरस्कार २०७६ बाट कमला घिमिरे र प्रिन्स लम्साललाई सम्मान गरिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

एक लाख दर्शक तथा श्रोताले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव सम्पन्न गर्न करिब २० लाख खर्च हुने र १ लाख ५० हजार रुपैयामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको कलाकार कल्याणकारी कोषमा जम्मा गर्ने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

महोत्सवको विशेष सहयोगी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश सरकार र वर्ड ल्याङ्ग्वेज महेन्द्रपुल रहेको आयोजकले जनाएको छ ।  उक्त मेला अवलोकनका लागि ५० रुपैया प्रवेश टिकटको व्यवस्था गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्