काठमाडौँ, कात्तिक २६ गते । केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित छठ पर्व अहिले राजधानी लगायत मुलुकको प्रमुख शहरहरूमा विस्तार हुँदै छ । यसले राष्ट्रिय पर्वको आकार मात्र लिँदै छैन, पहाड र मधेश जोड्ने सेतु पनि बन्दै छ । जातीय तथा क्षेत्रीय मुद्दामा विवाद र विभाजित हुन लागेकाहरूलाई छठ पर्वले सद्भाव, एकता तथा सहिष्णुताको सन्देश दिन थालेको छ । आइतबारदेखि छठको रौनक सुरु भएको छ । यसको तयारी पनि राजधानी काठमाडौँलगायत देशैभर तीब्र छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डन भन्नुहुन्छ, ‘केही समयअघि तराईको एउटा समुदाय विशेषको पर्व रहेको छठ अहिले धेरै नेपालीले राष्ट्रिय महत्व र गौरवको अनुभूति गर्दै मनाउन थालेका छन् ।’ विदेशमा रहेका नेपालीका लागि समेत छठ पर्व गौरवको विषय बन्न लागेको र यो पर्वले पहाडी मधेसीलगायत सबै नेपालीलाई जोड्ने कार्य गरिरहेको उहाँको धारणा छ ।

छठ पर्वले नेपालीहरूबीचको अनेकतालाई एकतामा बदल्न समेत मद्दत पु¥याएको बताउँदै उहाँले पहाडी–मधेसी, धनी–गरिब, हिन्दू–मुस्लिम, महिला–पुरूष, सबैले मनाउने यो पर्वले मुलुकको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप बलियो बनाएको उहाँको धारणा छ । चाडपर्वभित्रको विकृतिलाई हटाउँदै हरेक सँस्कृतिलाई मौलाउन पाउने अवसर राज्यले प्रदान गर्नुपर्ने टण्डनको भनाइ छ ।छठ नेपाल, भारतलगायत नेपाली र भारतीय मूलका बसोबास गर्ने संसारभरका मुलुकमा मनाउन थालिएको छ ।

पुरातत्वविद् तारानन्द मिश्र केही वर्षअघिसम्म काठमाडौँलगायत मुलुकको पहाडी भेगका विभिन्न सहरमा नितान्त नयाँ पर्वको रुपमा रहेको छठ पर्वमा पहाडी भूभागका दिदीबहिनी समेत सहभागी हुनुले यस पर्वले राष्ट्रिय स्वरुप ग्रहण गर्दै गएको प्रमाणित भएको बताउनुहुन्छ । छठ पर्वलाई अब तराईको पर्व मात्र भन्न नमिल्ने उहाँको धारणा छ ।

इस्वीको दोस्रो शताब्दीभन्दा अघिको सूर्यमूर्ति काठमाडौँ उपत्यकामा प्राप्त भएको बताउँदै उहाँले यही आधारमा उपत्यकामा सूर्य पूजाको लामो परम्परा रहेको पुष्टि भएको बताउनुभयो ।

पुरातत्व विभागका पूर्व उपमहानिर्देशक समेत रहनुभएका मिश्रले छठ पर्व नेवार समुदायमा मनाइने कुमारी पूजासँग समेत सम्बन्धित रहेको बताउँदै नेवार समुदायमा समेत एक दिन षष्ठी नखः पर्व मनाउने गरिएको बताउनुभयो ।

संस्कृतिविद् डा. रामदयाल राकेश केही वर्षयता हरेक नेपालीको जनजिभ्रोमा झुण्डिन सफल हुनुका साथै दशैँदेखि सुरु हुने हरेक शुभकामना आदान प्रदानमा बडा दशैँ, तिहार, नेपाल संवतसँगै छठ पर्व समेटिनुले यसले राष्ट्रिय पर्वको रुप धारण गरेको तर्क गर्नुहुन्छ ।

यो पर्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप मजबुत बनाउँदै लगेको बताउँदै उहाँले जसरी सूर्यको प्रकाशले विना भेदभाव सम्पूर्ण प्राणी जगतलाई प्रकाश छरेको हुन्छ, यस पर्वल सबैलाई समेट्न थालेको बताउनुभयो ।

छठ पर्वको पौराणिकताबारे चर्चा गर्दै संस्कृतिविद् डा. राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको बताउनुहुन्छ । त्यसैगरी महाभारतको प्रसंग उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुहुन्छ । त्यस बेलादेखि नै छठ पर्वको शुरुआत भएको धेरैको विश्वास छ । त्यसै गरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख पाइन्छ

वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको बताउनुहुन्छ डा. बंशीधर मिश्र । उहाँका अनुसार, संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ । सूर्यको किरणमा पाइने भिटामिन लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।

तिहार सम्पन्न भएसँगै छठ पर्वको चहलपहल र तयारी सुरु भएको छ । जलाशयको किनारमा अर्घ दिएर मनाइने यस पर्वको तयारी स्वरुप पोखरी, तलाउ, नदी, खोलालगायतका जलाशयको सरसफाइ तथा सिँगार्ने कार्य आइतबार सुरु भएको छ । विशेषगरी अराध्यदेव सूर्यको उपशाना र आराधना गरी मनाइने यो पर्वको मुख्य अंश मङ्गलबार सुरु भई बुधबार सम्पन्न हुँदैछ ।

यो पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरुले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्दछन् ।

त्यसैगरी, दोश्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन ब्रतालुहरु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई ब्रतालु र परिवारका अन्य सदस्यहरुले प्रसादको रुपमा ग्रहण गर्दछन् ।

यस पर्वको तेश्रो दिन अर्थात् षष्ठीका दिन चामलको पिठोबाट तयार पारिएका विभिन्न परिकारसहित पाँच थरिका मिठाई, ऊखु, अदुवा, नरिवल, मूला, सुथनी, सुपारी, ल्वाङ्, सुकमेल लगायतका प्रसादहरु बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित ब्रतालुहरू परिवारका सदस्यहरुसहित नजिकको जलाशयमा जान्छन् र ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन । अर्घ दिएपछि ब्रतालुहरु घर फर्कन्छन् । भोलिपल्ट कात्तिक सप्तमीका दिन ब्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्