चितवन,१ माघ २०७५ । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए ।

विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु स्नान गरेर फर्कने र अरु थप आउने क्रम जारी छ ।

देवघाटको बेनिका नदी तटीय क्षेत्र, चितवन र तनहुँतर्फका मठमन्दिर, आश्रम, बाटोघाटो सबै क्षेत्र भक्तजनले भरिएको पौडेलले बताउनुभयो । सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामीनि कार्यक्रम भएको थियो । आज दिउँसो गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन हुँदैछ । विभिन्न उपसमिति गठन गरी व्यवस्थापनको काम गरिएकाले कुनै समस्या नभएको पौडेलले बताउनुभयो ।

आज दिउँसोसम्ममा करीक पाँच लाख भक्तजनले देवघाटमा स्नान र दर्शन गर्ने अनुमान गरिएको पौडेलको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्डको अवस्थामा सुधार आएपछि यस वर्ष भक्तजनको चाप बढेको उहाँले बताउनुभयो । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा आज व्रतबन्ध गर्नेको भीड छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा दुवैतर्फ प्रहरी र स्वयंसेवकले आलोपालो सुरक्षा दिएका छन् ।

ठूलो सङ्ख्यामा भक्तजन आएकाले सुरक्षा प्रबन्ध चुस्त बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित आफू सोही क्षेत्रमा रहेको बताउनुभयो । उहाँले स्नान गर्दा समस्या हुनसक्ने भन्दै सशस्त्र प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्