काठमाडौं, मंगलबार, ६ असोज २०७७ । खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्न सरकारले लामो समय बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशलाई मुख्य केन्द्रमा राखेर खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाले बताएका थिए ।

कर्णालीको जुम्लामा यसअघि धेरैपटक उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभिन्‍न संघ-संस्थाहरुले अध्ययन गरेका थिए । यसैका लागि भन्दै सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यो शीर्षकमा छुट्याइएको बजेट ‘फ्रिज’ हुँदै आएको थियो ।

यो वर्ष पनि सरकारे हालसम्म उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि छुटएको बजेटका लागि कुनै किसिमको छलफल गरेको छैन । बजेटका नाममा पनि प्रदेश सरकार र जिल्लाले आशा लाग्दो बजेट विनियोजन भने गरेको छैन । जुम्लाको पातारासी गाउँपालिकामा उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि जम्मा १३ लाख रुपैयाँ विनियोजन गरेर काम सुरु गर्न लागेको छ ।

केन्द्र सरकारले नै बजेट विनियोजन गर्ने भएपछि खुसी भएका कर्णालीका बासिन्दा अहिले भने निराश बनेका छन् । सरकारले बर्सेनि आशा देखाउने र काम नगर्ने गर्दा प्रशिक्षण केन्द्रका हकमा खासै निकास भने निस्किएको छैन ।

ओलम्पियन धावक हरिबहादुर रोकायाले उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि पटक-पटक चरालाई चारो हालेजस्तो बजेट विनियोजन गर्दा खासै विकास नहुने बताए । “केन्द्र सरकारले छुटाएको बजेटमा केही आशा लागेको थियो । तर, हालसम्म केन्द्रको बजेट विनियोजन भएर काम सुरु हुन भने सकेको छैन । जुम्लाको पेरेमा निर्माण हुन लागेको प्रशिक्षण केन्द्रका लागि खेलाडी र प्रशिक्षक उत्साहित थियौं । तर, हालसम्म सरकारले १३ लाख रुपैया विनियोजन गरेको भन्ने सुन्नमा आएको छ । त्यो बजेटले त काम टार्ने मात्र हुन्छ । न खेलाडीले प्रशिक्षण गर्ने माहोल पाउन्छन् । नत खेलकुद क्षेत्रमा विकासको पाटो देखिन्छ,” रोकायाले बाह्रखरीसँग भने ।

रोकायाले हाल खेलाडीहरुलाई उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन लागि अध्ययनका रुपमा रहेको स्थानमा प्रशिक्षण गराइरहेका छन् । कोरोना महामारीबीच समुदायभन्दा सात देखि १० किलोमिटर टाढा रहेको स्थानमा स्वास्थ्य सतर्कता अपनाएर प्रशिक्षण गराइरहेको उनले बताए ।

रोकायाले प्रशिक्षण केन्द्रका लागि जुम्ला बजारनजिक रहेको ‘राजा सिम’ चौरलाई प्रस्ताव गरेका थिए । तर, केन्द्र तथा प्रदेश सरकारले पेरे चौरलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ ।

“मैले राजा सिमलाई प्रशिक्षण केन्द्रका रुपमा प्रस्ताव गरेको थिएँ । जसले गर्दा कर्णाली प्रदेशका धेरै खेलाडीले लाभ उठाउन सक्थे । केन्द्र र प्रदेश सरकारले पेरे चौरलाई मुख्य प्राथमिकतामा राखेका छन् । कार्यक्रम सुरु भयो भन्दै १३ लाख रुपैयाँ छुट्याएको सुन्‍नमा आएको छ । नत हालसम्म निरिक्षण या अध्ययन छलफल भएको छैन,” रोकायाले भने ।

कर्णाली प्रदेशबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । कीर्तिमानी धावक रोकायाले पनि हाई-अल्टिच्युडमै प्रशिक्षण गरेका थिए । सुनमाया बुढा, दुर्गा बुढा, रेजिना, राजन रोकाया, पूर्ण लक्ष्मीजस्ता खेलाडीले कर्णाली प्रदेशको जुम्लामा प्रशिक्षण गरेका हुन् ।

यीमध्येबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय यात्रा गर्दै पदकसमेत भित्र्याइसकेका छन् । जुम्लामै उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्दा उपयुक्त स्थान हुने भएकाले निर्माण कार्यलाई छिटो सुरु रोकायाले आग्रहसमेत गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्