नेपालको राज्यको उद्गम स्थल गोरखाको लिगलिकोटमा पर्यटकको चलहपल बढेको छ । दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्नका लागि लिगलिगकोट आउन थालेको लिगलिगकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । ‘घुम्न आउनेहरु बढेका छन’ उनले भने ‘विदेशी पर्यटकहरुको पनि राम्रो उपस्थिती हुन थालेको छ ।’ अहिले दिनहुँ ठुलो संख्या विद्यार्थीहरु घुम्न र वनभोजका लागि लिगलिगकोट पुग्ने गरेका छन् । जिल्ला भित्र र देशका विभिन्न ठाउँमा आएका विद्यार्थीहरुले नेपालको उद्गम स्थल लिगलिगकोटको अवलोकन गर्ने, आवश्यक जानकारी लिने गर्छन् । ‘यो सिजनमा धेरै विद्यार्थीहरु आउनु हुन्छ’ अध्यक्ष रानाले भने ‘कतिपय घुमेर मात्र फर्कनु हुन्छ भने कतिले पिकनिक समेत गरेर जाने गर्नुभएको छ ।’ यस अघि आन्तरिक पर्यटकको मात्र उपस्थिती रहेको लिगलिगकोटमा उल्लेख्य मात्रमा बाह्य पर्यटकहरु समेत आउन थालेका छन् ।

उनीहरुले नेपालको इतिहास बारे जानकारी लिनुका साथै पालुंटारबाट लिगलिगकोटसम्म पदयात्रा गरेर फर्कने गरेका रानाले बताए । ‘पहिले विदेशी पर्यटकहरु त्यत्ति आउनुहुन्थेन, पछिल्लो समय यो क्रम पनि बढेको छ’ उनले भने ‘बिस्तारै लिगलिगकोट विदेशी पर्यटकको रोजाईमा पर्न थालेको छ ।’ पर्यटकको संख्या वृद्धि भएपछि उनीहरुका लागि आवश्यक पुर्वाधार निर्माण पनि स्थानीय सक्रिय भएका छन् । अवलोकन र पिकनिकका लागि त्यहाँ जानहरुकोलाई लक्षित गरी पिकनिक स्पोट निर्माण गरिएको छ । ‘उहाँहरुको लागि हामीले पिकनिक स्पोट निर्माण गरिदिएका छौं’ उनले भने ‘खानेपानी, विजुली सबैको प्रबन्ध गरिएको छ ।’ पर्यटकको उल्लेख्य उपस्थिती हुन थालेपछि होमस्टे सञ्चालनको तयारी समेत गरिएको छ ।

घुम्नका लागि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरी केही दिन भित्र होमस्टे सञ्चालनमा ल्याउन लागिएको रानाले बताए । ‘सुरुमा ४-५ घरबाट पाहुना राख्न सुरु गर्छाै’ उनले भने ‘अहिलेको तयारी ३०-४० जनासम्म राख्ने छ, पर्यटक संख्या वृद्धि भए अरु घरमा पनि बिस्तार हुन्छ ।’

नेपालकै ऐतिहासिक गोरखाको लिगलिगकोटलाई आकर्षक गन्तव्य बनाउनका लागि पहल भइरहेको छ । प्रदेश सरकारले संग्रालय निर्माणका लागि बजेट विनियोजन गरेको छ भने पुरातत्वले वर्षेनी विभिन्न संरचना निर्माण गरिरहेको छ । पालुंटार नगरपालिका, स्थानीय वडा कार्यालयले पनि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरेको बताएका छन् । लिगलिगकोट बिकास अभियानको आयोजनामा वर्षेनी लिगलिगे दौड समेत आयोजना हुने गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्