काठमाडौँ, ५ पौष २०७५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पम्पेओले दुई देशबीच बलियो साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र पम्पेओबीच बुधबार वासिङ्गटन डीसीस्थित स्टेट डिपार्टमेन्टमा भएको द्विपक्षीय भेटका क्रममा सो प्रतिवद्धता व्यक्त गर्नु भएको अमेरिकी विदेश मन्त्रालले जनाएको छ ।

त्यस्तै दुवै देशका नेताहरू दुई देशबीचको सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा दुबै नेताहरूले अमेरिकाले नेपाललाई उपलब्ध गराएको ५० करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज परियोजनाको कार्यान्वयका विषयमा छलफल गर्नुका साथै इन्डो प्यासिफिक क्षेत्रलाई स्वतन्त्र, खुला र समृद्ध बनाउने विषयमा छलफल गर्नुभयो । विश्वव्यापी मुद्दाहरू र उत्तर कोरियालगायतका विषयमा नेपालको महत्वपूर्ण भूमिकाका विषयमा पनि त्यस अवसरमा छलफल भएको जानकारी दिइएको छ ।

अमेरिकी विदेशमन्त्रीले उक्त ऐतिहासिक भेटले नेपालसँग अमेरिकाले गर्ने बलियो साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ विकसित गर्ने विषयमा थप बल पुगेको विदेशमन्त्री पम्पेओले बताउनुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भएको र सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताबारे समकक्षी पम्पेओलाई जानकारी गराउनुभएको थियो ।

उच्च स्तरीय भ्रमणहरूको आदानप्रदानको माध्यमबाट राजनीतिक सम्बन्धलाई बढावा दिने तथा ब्यापार, लगानी र विकास सहायता जस्ता आर्थिक सहयोगको क्षेत्र अभिवृद्धि गर्ने विषयमा पनि भेटका अवसरमा विचारहरूको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच परराष्ट्र सचिव शङ्करदास बैरागीले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डल र अमेरिकी निमित्त सहायक विदेशमन्त्री एलिस जी वेल्सको नेतृत्वको टोलीबीच राजनीतिक परामर्श बैठक भएको थियो ।

उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कायान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, ब्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको थियो ।

विदेशमन्त्री पम्पेओसँग द्विपक्षीय भेटवार्ताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली वासिङ्गटन डीसी पुग्नु भएको छ । यो भ्रमण लामो समयपछि दुई देशबीच भएको पहिलो मन्त्रीस्तरीय भ्रमण हो ।

उक्त नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, गृहमन्त्रालयका सहसचिव महादेव पन्थका साथै परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास वासिङ्गटन डीसीका पदाधिकारीहरू सम्मिलित हुनुहुन्थ्यो ।

त्यसैगरी अमेरिकी प्रतिनिधिमण्डलमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीका साथै अन्य उच्च पदाधिकारीहरू सम्मिलित हुनुहुन्थ्यो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्