धादिङ, पौष १६ गते सोमबार । पृथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडकको यात्रापछि रहेको कान्द्राङगढी पुगिन्छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ ।

नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन शासकहरूका पालामा निर्माण भएको मानिने उक्त गढी संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । उक्त गढीको मर्मत-सम्भारमा नेपाली सेना सक्रिय भएको हो ।

गजुरीस्थित देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले ८० सेना खटेर गढी क्षेत्रको सफाइ, मर्मत तथा बाटोसमेत निर्माण गरिएको जानकारी दिनुभयो । घाँस र झाडी हटाएर होर्डिङ बोर्डसमेत राखिएको छ । उहाले भन्नुभयो, ‘कान्द्राङगढीको पर्खाल भत्किनुका साथै यहाँका शिलालेख तथा पुराना युद्ध सामग्रीहरू हराएका छन् ।’

कान्द्राङमा रहेको उक्त गढी समुद्री सतहबाट १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको उक्त गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ । नजिकै साना–ठूला गरी चार सुरुङ छन् । ठूलो मुख्य गढी ५०/६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ । पूर्वपट्टि तल बलि दिने स्थान पनि फेला परेको नेपाली सेनाले जनाएको छ । गढी वरपरका केही सुरुङबाट तातो वाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पुरातत्व विभागले यसको अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

नेपाल एकीकरण तथा नेपाल-अंग्रेज युद्ध र त्यसपछिका विभिन्न समयमा प्रयोगमा आएका गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरिसकेको छ । ऐतिहासिक महवका गढीहरू पाँच वर्षभित्र पुनर्निर्माण संरक्षण गर्ने कार्ययोजनाअनुरूप कान्द्राङगढीको संरक्षणमा नेपाली सेना जुटेको जनाइएको छ ।

भत्किएको पर्खाल सेनाले लगाइदिएको छ । गढीको भग्नावशेष उत्खनन र संरक्षण गर्न गाउँपालिकासमेत लाग्ने बेनिघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापाले बताउनु भयो । यस क्षेत्रमा चेपाङ समुदायको बसोबास छ ।

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवनका विभिन्न स्थान सजिलै देख्न सकिन्छ । तत्कालीन सेन शासकहरूले दुश्मनहरूले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढी बनाएको जन-विश्वास रहिआएको छ । सेन वंशको तत्कालीन मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरूमा उल्लेख गरेको पाइन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्