टोकियो, २६ पौष २०७६ । विश्वभर छरिएर रहेका नेपाली श्रष्टाहरुको साझा संस्था अन्तर्राष्ट्रिय अनेसासको तेस्रो च्याप्टर सम्मेलन जापानमा सुरु भएको छ ।

शुक्रबारबाट अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको शनिवार (जनवरी १०-१२) राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले उद्घाटन गर्नुभयो ।नेपाल र जापानको राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको सम्मेलनमा विभिन्न १० देशबाट करिव ५० जना सर्जक, साहित्यकारहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा अनेसास जापानका निबर्तमान अध्यक्ष तथा सम्मेलन आयोजना संयोजक रहनुभएका दीप पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो । अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको तेस्रो च्याप्टर सम्मेलनबारे केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गायक रामकृष्णबम मल्लले मुटुभित्र नेपाल छ कि नेपालभित्र मुटु राष्ट्रिय गीत गाएर सहभागीहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । कार्यक्रममा सम्मेलन सफलताको शुभकामना सहित एनआररएन आइसीसीका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौला, पूर्व अध्यक्ष डा.कुमार बस्नेत, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी, एनआरएन आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, त्रिविवि उपप्राध्यापक महेश पौड्याल, निवर्तमान केन्द्रिय अध्यक्ष तथा ट्रष्टी पदम बिश्वकर्माले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली भाषा र साहित्यबारे जानकार जापानी नागरिक हारुहितो नोजु, एनआरएन एशिया युवा संयोजक दीपक कँडेल लगायतले सम्मेलन सफलताको शुभकामना सहित आफ्नो मन्तव्य राख्नुभएको थियो

कार्यक्रममा विभिन्न देशबाट सहभागी हुनुभएका एकदर्जन श्रष्टाहरुका १५ बढी कृति बिमोचन गरिएको थियो । नेपाली साहित्यको विभिन्न विधामा योगदान गर्नुहुने श्रष्टालाई पुरस्कृत र सम्मान गरिएको कार्यक्रममा अनेसास जापान च्याप्टरलाई उत्कृष्ठ च्याप्टरको सम्मानबाट सम्मानित गरिएको थियो ।

पहिलो दिनको कार्यक्रममा अनेसास केन्द्र र च्याप्टरका विभिन्न व्यक्तिहरुले आफ्ना धारणा राख्नुभएको थियो । अनेसास केन्द्रिय महासचिव गणेश घिमिरे र अनेसास जापान च्याप्टरका महासचिव रबिन शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न श्रष्टा र सर्जकहरुले रचना बाचन समेत गर्नुभएको थियो ।

जनवरी १० तारिखबाट सुरु भएको अनेसास तेस्रो च्याप्टर सम्मेलन भोली १२ तारिख महत्वपूर्ण विषयहरुमा टोकियो घोषणापत्र जारी गर्दै समापन हुनेछ ।