२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री अाजबाट खुला गरेको छ । राष्ट्र बैंकले बोलपत्र आह्वान गरि पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नागरिक वचतपत्र विक्री गर्दैछ ।
बचतपत्रमा जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बोलपत्र पेश गर्न सकनेछ । जसको निष्काशन जेठ २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८० जेठ २८ गते हुनेछ ।
प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने बताइएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुबाट बचतपत्रमा आवेदन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ ।