काठमाडौं, २९ माघ २०७६ । नेपाली कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको हो ।

प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले क्रियाशिल सदस्य वितरण गर्ने निर्णय भएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकमा सर्वसम्मतिले पारित भएको पनि बताउनु भयो ।

पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो । तर त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए ।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ ।

प्रवक्ता शर्माका अनुसार यहि फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिइएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उहाँले बताउनु भयो ।

वर्तमान सरकारले राजनैतिक पूर्वाग्रह राखि भिन्न राजनीतिक आस्था राख्ने दलका नेता कार्यकर्तामाथि सुनियोजित मुद्दा लगाएको भन्दै चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।