काठमाडौं, शुक्रबार, १९ असार २०७७ । नेपाली कांग्रेसले कोरोना महामारीको रोकथामका लागि सरकारलाई सहयोग गर्न र सचेत गराउन गठित ‘कोभिड—१९ अनुगमन समिति’ लाई पूर्णता दिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गरेर अनुगमन समितिलाई पूर्णता दिइएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत जेठ २६ गते बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा ‘कोभिड-१९ अनुगमन समिति’ गठन गरेको थियो ।

“समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुसहित ३५ सदस्य मनोनित गरेर समितिलाई पूर्णता दिइएको छ,” समितिका सदस्य सचिव तथा कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली जानकारी दिनुभयो ।

सहमहामन्त्री डा. महतको संयोजकत्वमा गठित समितिमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी सदस्य रहेका छन् ।

रमा कोइराला पौडेल, धु्रव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा. माधवी भट्ट, डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्रा.डा. धनेश्वर नेपाल, डा. किरण रेग्मी, रवीजंग पाण्डे, बद्री अर्याललाई पनि समितिको सदस्यमा मनोनयन गरिएको सदस्य सचिव डा. पराजुलीले बताउनु भयो ।

उहाँका अनुसार लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दिपकराज भट्ट, सरिन घिमिरे, विमल ढकाललाई पनि सदस्यमा मनोनयन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सोनामा शुक्रबार बसेको बैठकमा कोभिड-१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्यमन्त्री र अर्थमन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायतका विषयमा संयोजक महतले जानकारी गराउनु भएको थियो ।

बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको सदस्य सचिव डा. पराजुलीले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्