काठमाडौं, ६ माघ २०७५ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास ‘बर्बरिक’माथि तयार नाटकको मञ्चन सुरु भएको छ ।
झोराहाट नाटक घर, विराटनगरका कलाकारहरुद्धारा राजधानीको बिजुलीबजारस्थित कुञ्ज थियटरमा ‘बर्बरिक’ नाटक मञ्चन सुरु भएको हो ।
नाटक नेकपा नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो। नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र ‘बर्बरिक’सँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ ।
नाटकमा विसं २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ । तत्कालीन राजा विरेन्द्रसँग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालापलाई नाटकमा जीवन्त बनाउने कोशिष गरिएको छ ।
त्यसैगरी, लौहपुरुष गणेशमान सिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ। सुरक्षा खतराकाबीच अस्पतालको शय्यामा जारी आन्दोलन र राजाकोे गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरुले सचित्र उतार्न सकेको देखिन्छ ।
नाटक हेरेपछि पुस्तकका लेखक एवम् वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरुले आफ्ना पात्रहरुप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिए ।
‘बर्बरिक’को मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका हुन् ।
‘बर्बरिक’ नाटक आगामी माघ १२ गतेसम्म कुञ्ज थियटरमा प्रदर्शन हुनेछ ।