बुटवल, शुक्रबार, २९ साउन २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी बुटवल नगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय १८ जना सो पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी एकिकरण हुनु अगावै तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १ सय २२ जना संगठीत सदस्य र ९६ जना साधारण सदस्य गरि २ सय १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई बुधबार बुटवलमा एक कार्यक्रमकाबीच नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराएको नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले जानकारी दिए ।

एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २ सय १८ जनाले नेकपा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको मल्लद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टी प्रवेशका क्रममा उनले नेकपा फूटको संघारमा पुगेको र नीति तथा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अंगाडी बढाउन खोजिएकाले लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली काँग्रेसमा प्रवेश गरेको बताए ।
मल्लले आफुसँगै नेपाली काँग्रेसमा प्रवेश गर्ने सबैको नामावली समेत नेपाली कांग्रेसलाई प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाकले नेपाली काँग्रेस स्थापना कालदेखिनै लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल्य मान्यतामा अडिग रहेको बताउँदै पार्टीको मुल्य मान्यता र सिद्धान्तबाट कत्तिपनि विचलिन नहुने प्रतिवद्धता व्यक्त गरे ।

उनले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको औंल्याउँदै कम्युनिष्ट पतनको बाटोमा अंगाडी बढेको आरोप लगाए ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले कम्युनिष्ट सरकारमा पुगेका व्यक्तिले जनताका काम भन्दा पनि व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेका कारण कम्युनिष्ट पार्टी प्रति जनताको बिश्वास गुम्दै गएको बताए ।

कार्यक्रममा पार्टीका महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ (क) का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने र आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न समेत आग्रह गरे ।

नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव दुर्गाब खत्रीको सञ्चालनमा भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्