काठमाडौं, २८ भाद्र २०७५ । नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि ४ जनाले अध्यक्षका लागि आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
महासङ्घको अध्यक्षमा सल्लाहकार यक्षध्वज कार्की, महासङ्घका महासचिव रामशरण देउजा, हुमनाथ कोइराला र रवी सिंहले दाबेदारी प्रस्तुत गरेका हुन् ।
दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताए।
महासङ्घका महासचिव देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताए ।
यसैगरी अध्यक्षका अर्का दाबेदार कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताएका छन् ।
अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताए ।
महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ । रासस