विरगञ्ज, साउन २२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको ५ गते भित्र एकभई सक्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय राष्ट्रिय भेलालाई सम्बोधन गर्न पर्साको वीरगञ्ज आइपुग्नु भएका दाहालले साउन २५ गतेसम्म तलबाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताउनु भएको हो ।

उहाले केही विवाद हुनु सामान्य भएपनि सबैको मन मिलाएर एकता गरिने स्पष्ट पार्नुभयो । उहाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले दिएको राजिनामा स्विकृत नभएको भन्दै उहानै अहिले पनि पार्टीको प्रवक्ता भएको स्पष्ट पार्नुभयो । फरक प्रसंगमा अध्यक्ष दाहालले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा प्रधानमन्त्रीसँग हिजोमात्र छलफल भएको जानकारी दिदै चाडै पदपूर्ति हुने स्पष्ट पार्नुभयो । ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ। प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’

उहाले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो । ‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले राखिएको हो। त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ,’ उहाले भन्नुभयो, ‘संवैधानिक परिषदबाट सिफरिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस छ। हामीले संसदको सर्वोच्चतालाई महत्व दियौं र स्थापित गर्‍यौं।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्