टोकियो, २६ कात्तिक २०७६ । धादिङ समाज जापानको आयोजनामा सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई  सहयोग गर्दै आइरहेको संस्था (सडक बाट घर) स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

“सहयोगाक्षिलाई, क्षणिक केहि दान दिएर परनिर्भर र आशामुखि बनाउनुभन्दा शिप, शिक्षा र अवसर दिऊँ ” भन्ने  संस्थाको अभियानलाई प्रेरणा र हौसला दिँदै, समाजले यस प्रकारको सहयोग हस्तान्तरण गरेको हो ।

समाजका महासचिव बिमल श्रेष्ठले सहयोग स्वरुप २५ हजार रुपैँयाको कपडा राख्ने दराज , १३ हजार  रुपैँयाको स्कूल पोशाक , १० हजार रुपैँयाको तरकारी बेच्नकालागि ठेलागाडा  तथा  २३ सय ६० रुपैयाँको अभ्यास पुस्तिका (कापी) प्रदान गरिएको बताउनु भयो  ।

संचारकर्मी बिष्णु आचार्यको आह्वानपछि, जापानमा कृयाशिल अर्का संचारकर्मी राजन गौतमको पहलमा धादिङ समाज जापान ‘स्ट्रीट टु होम’संग जोडिन पुगेको हो ।

धादिङ समाज जापानका संचार संयोजक समेत रहेका गौतमले समाजलाई गरेको प्रस्तावमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको स्विकृति प्राप्त भएपछि, दशैँ तिहारको अवसरमा, संस्थाको अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव स्वयम संस्थामा पुगि सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

‘संस्थाको बारेमा सुनेको भरमा सहयोगको निर्णय गरेका थियौँ, संस्थामा नै पुगेर हेर्दा वास्तबमै सहि निर्णय गरेको महशुस भयो, संस्थाले निकै राम्रो काम गरेको रहेछ । धेरै सडक बालिकाहरुले आश्रयसंगै शिक्षा पनि पाईरहेका रहेछन् । त्यस्तै असाहयहरुलाई स्वआर्जन उन्मुख बनाएको रहेछ, अध्यक्ष खनालले भन्नुभयो ।

संस्थाकी व्यवस्थाप एवं संचालिका सुगिता शाहले सहयोगी मनप्रति खुसी हुँदै ‘परदेशी  भूमिमा पसिना बगाएर नेपाल आमाको सेवामा समर्पित धादिड़ समाज जापानको सम्पुर्ण टिमप्रति अत्यन्त आभारी छौँ । जसले हामीले थाले सानो प्रयासबाट मजबुत इट्टा थपिदिनुभएको छ ।  हाम्रा नानी बाबुहरूको लागि उहाँहरूले गर्नुभएको सहयोगले अत्यन्त ठूलो गुन लगाएको छ । धादिङ समाज जापानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुज्युहरु प्रति हृदयदेखि कृतज्ञ छौँ , भन्नुभयो ।