धादिङ, १५ फागुन २०७६ । दृष्टि आइ केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क आँखा परीक्षण एवं चस्मा सहयोग कार्यक्रमको घोषणा गरेको छ ।

जायसको सहयोगमा दृष्टि आई केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिने भएको छ ।

कार्यक्रमको सुरुवात धादिङकाे गल्छी गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ बर्ष मुनिका विद्यार्थीबाट गरिने  केयर सिस्टमका कार्यकारी प्रमुख डा. भाइराजा श्रेष्ठले जानकारी दिनुभयो । निःशुल्क आँखा परीक्षण गरी चस्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुका निम्ति निःशुल्क रुपमा चस्मा उपलब्ध गराइने संस्थाले जनाएकाे  छ ।

आँखा परीक्षणको पहुँचबाट बञ्चित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिनुका साथै आर्थिक अभावले चस्मा प्रयोग गर्ने अवसरबाट बञ्चित विद्यार्थीहरुलाई निःशुल्क चस्मा उपलब्ध गराइ बाल अन्धोपन निवारण गर्ने उदेश्यकाे उद्देश्य रहेकाे छ ।

आलोका भिजन कार्यक्रमका प्रमुख डा. प्रेम जीतले केयरसँगको साझेदारीमा निःशुल्क आँखा परीक्षण र चस्मा सहयोग कार्यक्रम मार्फत विद्यार्थीहरुको आँखा सम्बन्धी समस्याको समाधान गरी उनीहरुको शिक्षा हासिल गर्ने अभियानमा मद्दत गरिने बताउनु भयो । आलोका भिजन कार्यक्रम मार्फत विद्यार्थीका साथै समुदायलाई समेत लक्षित गरी अत्यन्त सहुलियत मूल्यमा चस्मा उपलब्ध गराईने  बताउनु भयो  ।

गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले मोवाइल, कम्प्युटर एवं टेलिभिजन लगाएतका डिभाइसको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा प्रतिकूल असर परिरहेको अवस्थामा निःशुल्क आँखा परीक्षण एवं चस्मा वितरण कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका निम्ति ठूलो राहत हुने बताए ।

‘पाइलट’ कार्यक्रमको रुपमा गल्छी गाउँपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीकहरुलाई लक्षित गरीए पनि भविष्यमा जायसको सहयोगमा देशभरीका सामुदायिक विद्यालयमा अध्ययनरत १६ बर्ष मुनिका विद्यार्थीहरुका लागि नै निःशुल्क आँखा परीक्षण र चस्मा वितरण कार्यक्रम अघि बढाइने दृष्टि आइ केयर सिस्टमका कार्यकारी प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

आँखामा ठूलो समस्या नपरीकन आँखा परीक्षण नगर्ने प्रबृत्तिले गर्दा बालअन्धोपन बढ्दै गएको र यस कार्यक्रमले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनिवार्य आँखा परीक्षणले विद्यार्थीहरु लाभान्वीत हुने दृष्टि विशेषज्ञ अशेष आचार्यले बताउनु भयो ।

नीजि क्षेत्रबाट सञ्चालित दृष्टिले झापा, विरगन्ज, धादिङको गल्छी, नुवाकोट र काठमाण्डौको कलंकी,बानेश्वर,चाबहिलका साथै जमलबाट समेत सेवा प्रदान गरिरहेको छ ।