काठमाडौं, बिहिबार, ११ मङ्सिर २०७७ । धरहराको १९ औं तलाको ढलान सम्पन्न भएको छ । बि स २०७२ वैशाख १२ गतेको भुइँचालोले भत्काएको धरहराको १९ औं तल्लाको ढलान सम्पन्न भएको हो ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच पनि धमाधम पुनर्निर्माण भइरहेको हो । अब तीन तल्लाको मात्र ढलान हुन बाँकी रहेको छ ।
धरहरा निर्माण जिआइइटिसी-रमन जेभीले बनाईरहेको हो । गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ । यसको उचाइ करिब ७७ मिटर हुनेछ । भुइँचालोले भत्काएको धरहरा ९ तले थियो । नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बनिरहेको छ ।
नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी छ । पुरानो धरहराको भग्नावशेषलाई भने सोही स्थानमा सोकेसमा सजाएर राखिनेछ ।
४२ रोपनीमा फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिने छ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बनिरहेको छ ।