काठमाडौँ, २३ भाद्र २०७६ । सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट दसैँका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

यो बर्ष असोज १४ गतेबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी राष्ट्र बैंकको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ ।

यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्थ्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ।

साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ ।

राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने छन्। यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्