जापान, २२ पौष २०७६ । जापानमा नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ गरिएको छ । जापानका लागि नेपाली महामहिम राजदूत प्रतिमा राणाले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि तयार पारिएको लोगो सहितको ब्यानर शो गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमको प्ररम्भमा भ्रमण वर्ष सफलताको कामना सहित ब्राह्मणद्वारा स्वस्तीवाचन समेत गरिएको थियो ।

जापानका लागि नेपाली महामहिम राजदूत प्रतिमा राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको तर्फबाट आ आफ्नो ठाँउबाट साथ सहयोग र सद्भावको आवश्यकता रहेको हुँदा सबैबाट सक्दो सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य अनुसार शुभारम्भ गरिएको कार्यक्रम अनुसार वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपुर्ण एतिहासिक, सास्कृतिक, धार्मिक लगायत अन्य विभिन्न दृष्टिकोणबाट बिबिधताको देश भएको उल्लेख गर्नुहुँदै महामहिम राजदूत प्रतिमा राणाले बिश्व सम्पदा सुचीमा सु-सुचिकृत हुन सफल विभिन्न सम्पदा लगायत ठाँउ, बिश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभुमी लुम्बिनी भएको देश नेपालको भ्रमण गर्न सबैमा अनुरोध समेत गर्नु भयो ।

केही समय पहिलेदेखि मात्र नेपाल र जापानको ओशाकाबीच सिधा हवाई उडान सञ्चालन भएको जानकारी गराउनु हुँदै आगामी दिनमा काठमाडौंबाट जापानको नारितामा पनि सिधा हवाई सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि जापानका परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री ममामहिम Norihiro Nikayama ले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्नु भयो । जापान सरकारको तर्फबाट पनि भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपालमा रहेका जापानी कम्पनीहरु मध्यमा पनि धेरै जसो कम्पनी पर्यटनसंग सम्बन्धित भएको हुनाले सबैलाई भ्रमण वर्ष सफल बनाउन प्रोत्साहन गरिने बताउनु भयो । उहाँले म आफू पनि नेपाल भ्रमणका लागि छिटो नेपाल जाने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै धेरै जापानी नागरिकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने बताउनु भयो ।

सोही कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि भिडियो सहितको power point प्रस्तुति गरिएको थियो । National Geography का फोटोग्राफर Ms Yumiko Ietaka ले नेपालका चराचुरुङ्गी तथा बनस्पतिका विभिन्न चित्रहरु समेटिएका Live and Let Live नामक फोटोको प्रस्तुतिका साथै नेपाली लोक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
उक्त उद्घाटन कार्यक्रममा जापान सरकारका पुर्ब मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टचार महापाल तथा मन्त्रालयका बिशिस्ट पदाधिकारीहरु, नेपालका लागि जापानी राजदुत महामहिम Mashamichi Saigo, नेपालका लागि जापानी पुर्ब राजदुतहरु, गैर आवसिय नेपाली संघका पदाधिकारीहरु लगायत जापानी नागरिक एबम नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।