काठमाडौं, ११ जेठ २०७७ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा १ दिन पर सारेको छ। शुक्रवार सार्वजनिक सुचना जारी गरी आइतवार दिने भनिएको ईदको विदा चन्द्रमा नदेखिएका कारण सोमबार (भोलि) का लागि सारिएको हो ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृहमन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो ।

रमदान (रमजान) महिना सकिएको खुसियालीमा उनीहरुले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।