कास्की, सोमबार, १५ मङ्सिर २०७७ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुहार निराश थियो । सार्वजनिक कार्यक्रममा जाँदा देखिने चमक थिएन । साढे २ वर्षअघि नयाँ शासकीय संरचना अनुसार प्रदेश सरकार गठन भएपछि उत्साहित हुँदै उनले भनेका थिए, “संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारको हातमा छ, हामी सातै प्रदेशमध्येमा नम्बर वान बन्छौँ ।”

तर, आजको समयमा उनको अभिव्यक्ति फेरिएको छ । अहिले आएर उनले हार मानेको स्वरमा भने, “म आज असफल छु ।”

कोभिड १९ को महामारीको सुरुवाती लकडाउन अघिदेखि सरकारले गरेका प्रतिबद्धता पूरा भएनन् । ती प्रतिबद्धतामा सरकारले आँकलन गरेर विशेष प्याकेज ल्याउने घोषणा गरेको थियो ।

सुरुमा गण्डकीमा विदेशबाट झन्डै ४० हजार युवा फर्किने र उनीहरुलाई उत्पादनमूलक रोजगारीमा संलग्न गराउने र त्यसका लागि नीति तथा कार्यक्रम र बजेटमा नै कृषिलाई प्राथमिकता दिने भनिएको थियो । तर, युवा फेरि विदेशिएका छन् । कुनै विशेष खालको, युवालाई लक्षित कार्यक्रम सरकारले सुरु नै गर्न सकेन ।

संघ सरकारले कोरोनाको बिरामीको उपचार नगर्ने भनेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीले सबै संक्रमितको उपचार निःशुल्क गरिदिने बताए । तर, अस्पतालहरुले मानेनन्, क्यान्टिनमा खाजा खान पनि धरौटी नै जम्मा गनुपर्ने सूचना सरकारी अस्पतालबाट आयो ।

मुख्यमन्त्रीले कर्मचारीले टेरेनन् भने ।

कन्ट्याक्ट ट्रेसिङमा प्रभावकारी बनाउन भनेर सरकार आफैंले पीसीआर मेसिन पनि किन्यो, स्वाब राख्न उधारोमा फ्रिज पनि किन्यो, तर सरकारी नीतिका कारण परीक्षणको दर ह्वात्तै घट्यो । कोरोना संक्रमण भने निकै तीव्र बनेको छ ।

कोरोना नियन्त्रणको बारेमा विभागीय मन्त्रालय भनेको सामाजिक विकास मन्त्रालय हो, तर सामाजिक विकास मन्त्री नरदेवी पुुनमगर कहाँ छिन्, के गर्दैछिन् थाहा छैन । उनको मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमितको संख्यामात्रै सार्वजनिक गरेको छ, सरकारले नयाँ के गर्दैछ भन्ने कहिँबाट देखिँदैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्