काठमाडौँ, १० असोज २०७५ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको खाता फुकुवा गरिएको भन्ने हल्ला मात्र भएको बताएका छन् ।

बुधबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा नहुने बताउँदै खातामा रहेको पैसा सरकारले के काममा खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। ‘कुनै पनि हालतमा यातायात व्यवसायीको खाता खुल्ने छैन।’ समितिमा मन्त्री महासेठले भने,‘संस्था खारेज भए पनि त्यो पैसा राष्ट्रको हुन्छ। अब त्यो यातायात मै खर्च गर्ने कि अन्य काममा खर्च गर्ने भन्ने छलफल भइरहेको छ ।’

पहिलेको नियममा नयाँ सवारी चलाउँदा मात्र कम्पनीमा दर्ता गर्नुपर्ने र चलिरहेका सवारीलाई पुरानै समिति अनुसार नै चलाउने व्यवस्था भएकोले सिन्डिकेट समयमा अन्त्य नभएको उनले बताए ।

नियममा सामान्य परिवर्तनको आवश्यकता रहेको बताउँदै मंसिर मसान्तसम्मको निर्णय गरिएको महासेठले बताए । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले यातायात व्यवसायी संस्थाहरूसँग वार्ता नगरिएको बताउँदै छाता सङ्गठन अर्थात् यातायात व्यवसायी महासङ्घसँग वार्ता गरिएको बताए। महासंघ सबैको छाता सङ्गठन भएकाले भाडादारका विषयमा वार्ता गरिएको प्रस्ट पारे ।

दुर्घटना बीमाको रकम बढाउने विषयमा सांसदहरूले राखेको प्रश्नमा मन्त्री महासेठले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाखबाट बढाएर १० लाख र घाइतेलाई त्योभन्दा बढी रकम दिने व्यवस्था भइरहेको बताए। बीमा कम्पनीहरूसँग छलफल जारी रहेको बताउँदै केही दिनभित्रै बीमाको रकम बढ्ने मन्त्री महासेठले जनाकारी दिए ।

दशैँ तथा चाडबाडमा यात्रुलाई समस्या हुन नदिन सरकारले विभिन्न पक्षमा ध्यान दिएको बताउँदै महासेठले यातायात व्यवस्थालाई चुस्त बनाउने कार्य भइरहेको जानकारी समितिलाई गराए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्