बाँके, पौष ७

अर्थमन्त्री डा युवराज खतिवडाले कानून, विधि र नियमसङ्गत काम गर्न र कुनै प्रकारको दबाब आए आफूलाई भन्न राजस्वसँग सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ । नियमसंगत काम नगर्ने र दवावमा परेर गल्ती गरे उन्मुक्ति नपाउने कठोर निर्णयसमेत अर्थमन्त्री खतिवडाले सुनाउनु भएको छ ।

कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अर्थमन्त्री खतिवडाको भनाई थियो । “कानून, विधि र नियमसङ्गत काम गर्नुहोला, राजनीतिक दबाब आए मलाई भन्नुस्, पछि तपाई उन्मुक्ति पाउनुहुन्न,” आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

उहाँले सरकारले करको दायरा वृद्धि गर्दै लगेको पनि बताउनु भयो । उहाँले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गर्नुभयो ।

“करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।”, अर्थमन्त्री खतिवडाले भन्नुभयो, “भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।”

उहाँले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताउनुभयो ।

उहाँले सङ्क्रमणकालमा केही महीना द्विविधा भए पनि आगामी दिनमा सबै कुरा सहज हुने बताउँदै करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।

विगतमा खुम्चिएको राजश्व सङ्कलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उहाँको भनाइ छ । सो अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको चारतले भवन रु चार करोड ४५ लाखमा निर्माण भएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी गराउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्