पोखरा, १५ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय व्यवस्थाको प्रभावकारिताका लागि केन्द्रीय सरकारले आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज पोखरामा आयोजित मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले कानूनको अभावमा प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

सङ्घीय व्यवस्था सफल बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले जनअपेक्षाअनुसार काम गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शान्ति र न्यायलाई संस्थागत गर्न सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पोखरा उच्च अदातलका मुख्य न्यायाधीश कुमार चुडालले न्यायाधिवक्ताको काम कर्तव्य र अधिकारलाई प्रभावकारी बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले एकात्मक र केन्द्रीकृत सोचका कारण प्रदेश सरकारको गतिविधि अगाडि बढ्न बाधक देखिएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दु थापा, प्रदेश नं १ का चूडामणि आचार्य, २ का दीपेन्द्र झा, ३ का सूर्यचन्द्र न्यौपाने, ५ का ठाकुर जिसी, कर्णालीका विद्याभूषण मानन्धर र ७ का खडानन्द उपाध्यायले प्रदेशमा हालसम्म भएका गतिविधि, समस्या र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्