काठमाडौं, बुधबार, १७ मंसिर २०७७ ।  करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ ।

निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ ।

कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धुर्व काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । नियमानुसार सम्झौताको पूरा अवधि कामपाले कुर्नुपर्छ काफ्लेले भन्नुभयो । सम्झौताअनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।

अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । समग्रमा १५ प्रतिशतभन्दा बढी काम भएको छैन । दैनिक १०० कामदारले काम गरिरहेका छन् । कामपाले जमिनमुनिको काम सम्पन्न गर्नका लागि नियमानुसार गतवर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ ।

समयमा नै सक्ने गरी काम गर्ने भए अहिलेसम्ममा आठ तलाको काम सम्पन्न गरिसक्नुपर्ने हो । उक्त टावर जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । कम्पनीले निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको हो । सम्झौतानुसार आगामी साउन महिनासम्ममा सक्नुपर्ने हो, तर त्यो अवस्था भने छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्