असोज ९- विधान संशोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ। प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ। पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन्। उनले केही दिनअघि प्रस्ताव सुझावका रूपमा पेस गरेका छन् ।

उनले पुरानै झण्डामा रहेको चार ताराका बीचमा सेता भागभित्रै रूखलाई पनि राख्न सुझाएका छन् । ‘यसलाई झण्डा परिवर्तनका रूपमा लिनु हुन्न। रूख र चारतारा भएको छुट्टाछुट्टै झण्डा हुँदा आम नागरिकमा अन्योल देखिने भएकाले निर्वाचनको समयमा चिह्नको द्विविधा नहोस् भन्ने मेरो सुझाव हो’, उनले भने, ‘यसले झण्डालाई थप आकर्षक बनाउँछ ।’

अधिकारी झापा ५ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए। उनी प्रधानमन्त्री केपी ओलीसँग पराजित भएका हुन्। कांग्रेसको सिद्धान्त र आदर्शलाई चुनाव चिन्हको महŒव र भावनासँग जोड्न सकिने उनको दाबी छ। ‘निर्वाचनका बेला दुईवटा झण्डा बनाइराख्नुपर्दैन। र अरु बेला पनि एउटै झण्डाले पार्टीको प्रचार हुन्छ’, उनले परिमार्जित झण्डाका फाइदाबारे भने, ‘पार्टीले गर्ने विभिन्न आन्दोलन र अभियानमा रूखसहित एउटै झण्डा प्रयोग गर्दा आम नागरिकले सहजै पहिचान गर्न सक्छन् ।’

नेपालका केही राजनीतिक दलसहित विदेशमा पनि पार्टीले एउटै झण्डामा चुनाव चिह्न राख्ने गरेको उनले उदाहरणसमेत दिए । ‘अमेरिकाको रिपब्लिकन पार्टीको झण्डामा चुनाव चिह्न हात्ती र डेमोक्रेटिक पार्टीको झण्डामा गधा राखिएको छ’, उनले भनेका छन्, ‘भारतमा भाजपाको झण्डामा कमलको फूल, कांग्रेस आईको झण्डामा हातको पन्जा, समाजवादी पार्टीको झण्डामा साइकल राखिएको छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्