काठमाडौं, भाद्र २८ गते बिहिबार । नेपाली कांग्रेसले कञ्चनपुर, रोल्पा लगायतको घटनाको जवाफ तत्कालै दिनुपर्ने माग गर्दै प्रतिनिधि सभाको आजको बैठक अवरोध गरेको छ । कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको घटनाका विषयमा छानविन सदस्यले उठाएको प्रश्नको जवाफ माग गर्दै संसद अवरुद्ध गरेको हो ।

बैठक शुरु हुन साथ कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उठेर कुरा राख्दै छानविन समितिका सदस्यले नै गम्भिर आरोप लगाउदै राजिनामा दिएको र पुन समितिमा फकिएको विषय उठाउदै सरकारको जवाफ अहिले दिनुपर्ने बताउनु भयो । उहाले सदस्यले ज्यानको खतरा रहेको र समितिले दोषी पत्ता लगाउन नसक्ने बताएको विषयमा सरकारले धारणा दिनुपर्ने माग गर्नुभयो ।

‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ’ उहाले भन्नुभयो ‘यो घटना राज्यसंरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’ साथै रोल्पामा तरुण दलका नगर प्रमुखको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग समेत गर्नुभयो । उहाले भनाई राखे लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित बैठकमा सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानकर्षण गराउदै उपयुक्त समयमा जवाफ आउने बताउनु भएको थियो तर, कांग्रेसका सांसदले अहिले जवाफ चाहिने भन्दै जवाफ नआएसम्म बैठक चल्न नदिने बताए । त्यसपछि सभामुख महराले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको छ । बैठकमा असोज ३ गते भित्र बनाईसक्नु पर्ने कानुनका विभिन्न विधेयक प्रस्तुत हुने कार्यसूचि रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्