काठमाडौं, १६ असोज २०७६ । नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी सहित जिल्लाका ३३ जना कांग्रेस नेता तथा कार्यकर्तासँग अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।

जिल्लामा सम्पन्न तीन तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै कांग्रेस नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग गरिएको हो ।

अनुशासन समितिले निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापति अकिल मियाँ, महासमिति सदस्यहरु ब्रम्हानन्द उपाध्याय, धनश्याम अग्रहरीसँग स्पष्टीकरण माग गरेको छ ।

त्यस्तै महाअधिवेशन प्रतिनिधिहरु दिपक शुक्ला, माधुरी श्रेष्ठ, दुधनाथ उपाध्याय र रीता मिश्रामाथि पार्टी हित विपरीत काम गरेको उजुरी परेको छ । वडा नम्बर ५ का वडाध्यक्ष दिरेप चौधरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सह महामन्त्री प्रकाश घिमिरे, पूर्व जिल्ला सचिव विनोद नेपाललाई पनि पार्टी हित विपरीत काम गरेको, आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा स्पष्टीकरण माग गरिएको छ ।

गएको साउन १० गते बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले यो निर्णय गरेको हो ।