काठमाडौँ, सोमबार, १६ मङ्सिर २०७७ । नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सबै काम टुङ्गो लगाउन अब १५ दिन मात्रै बाँकीछँदा चार जिल्लामा भने क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु भएको छैन ।

आगामी फागुनमा हुने तय भएको १४औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण सक्नुपर्ने समय अवधि मङ्सिर मसान्तसम्म तोकिएको छ । यो अवधिमा सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरणको सबै प्रक्रिया पूरा गरी त्यसको अन्तिम विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न कारणले अझै चार जिल्लामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणका लागि फाराम लैजान बाँकी रहेको जानकारी दिनुभयो । ती चार जिल्ला बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बु छन् । तीन जिल्लाको समायोजन बाँकी छ भने सोलुखुम्बुको आन्तरिक विवादका कारण केन्द्रले नै क्रियाशील सदस्यताको फाराम लैजान रोकेको भनाइ जिल्लाका नेताको छ ।

अझै आठ जिल्लाले नयाँ क्रियाशील सदस्यता वितरणका लागि थप फाराम नै लान बाँकी छ । काँग्रेसको साउन २२ मा बसेको बैठकले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । हाल पार्टीमा करिब पाँच लाख क्रियाशील सदस्य छन् र त्यत्तिकै सङ्ख्यामा थपेपछि क्रियाशील सदस्यको सङ्ख्या १० लाखको हाराहारीमा पुुग्नेछ ।

अझै समायोजन बाँकी
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका स्थानीय नेताको व्यवस्थापन गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा लामो समयसम्म बस्यो । पार्टीका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री सहितको सो बैठकमा विभिन्न विषयमा छलफल भए पनि कुनै टुङ्गो भने लागेको छैन ।

तत्कालीन फोरम लोकतान्त्रिक २०७४ असोज २८ गते काँग्रेसमा समाहित हुने सहमति भए पनि अहिलेसम्म समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन । सो पार्टीका करिब २४ हजारभन्दा बढी सदस्यलाई काँग्रेसमा क्रियाशील सदस्यता प्रदान गर्ने सहमति भइसकेको छ तर बारा, सप्तरी र सिन्धुपाल्चोकमा समायोजनको काम नै सकिएको छैन ।

काँंग्रेसले १४औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले समितिको सोमबार बसेको बैठकले बारा जिल्लाबाट आएको विवरणको अध्ययन गरेको जानकारी दिनुभयो । बाराको समायोजनको कुरा मिलेको तर औपचारिक निर्णय हुन बाँकी छ ।

यसैगरी समायोजनको कार्य पूरा गर्न सप्तरीबाट परामर्शका लागि जिल्ला स्तरका नेतालाई काठमाडौँ बोलाइएको छ । उता सिन्धुपाल्चोकको विवरण पर्याप्त नभएकाले समायोजन प्रक्रिया नै ढिला हुने देखिएको छ । समायोजनको कार्य सकेर मात्रै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्न बाटो खुला हुनेछ । गोरखापत्र

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्