काठमाडौं, २५ असोज २०७५ । नेपाली काँग्रेस विधान मस्यौदा समितिले दशैंको फूलपाती अघि एकीकृत मस्यौदा तयार गर्ने भएको छ ।

विभिन्न उपसमितिले तयार पारेका प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको काँग्रेस नेता तथा विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए ।

‘मस्यौदा समितिको दैनिकजसो बैठक बसिरहेको छ । आज पनि बैठक छ । हामीले दशैंको फुलपाती अघि नै एकीकृत मस्यौदा तयार गर्नेगरी काम गरिरहेका छौ’ प्रवक्ता लेखकले रातोपाटीलाई बताए ।

नेता लेखकका अनुसार बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नआएको दावी पनि गरे । ‘सभापतिलाई शक्तिशाली बनाउने वा नबनाउने भन्नेमा विवाद आएको छैन । बाहरि जति हल्ला भएका छन् तिनमा सत्यता छैन । नयाँ विधानमा सभापति अधिकारप्राप्त हुनुदैन भनेर कसैले भनेको छैन र त्यस्तो व्यवस्था पनि विधानमा हुदैन’ प्रवक्ता लेखकको भनाई छ ।

त्यस्तै विधान मस्यौदा समितिले सदस्यता, संगठन संरचना, अधिबेशन प्रतिनिधि छनोट लगायतका विषयमा लगभग सहमति जुटाइसकेको जनाएको छ । ‘धेरैजसो विषयहरु टुङ्गिसकेका छन् । केही विषयमा छलफल पनि भइरहेको छ । हामी ति विषय पनि छलफलबाटै टुङग्याउने प्रयत्नमा छौ’ प्रवक्ता लेखकको दावी छ ।

नेपाली काँग्रेसमा सवैभन्दा विवादको विषय बनेको निर्वाचनमा टिकट वितरणको प्रकृयालाई विधानमार्फत नै व्यवस्थित बनाउने भएको छ । टिकटका आकांक्षी बढी हुनेहुँदा टिकट नपाउनेले आधिकारिक उम्मेद्वारमाथि अन्तरघात हुने गरेको गुनासो बढ्ने गरेकाले त्यसलाई विधानमार्फत नै व्यवस्थित गर्न लागिएको विधान मस्यौदा मुल समितिले जनाएको छ ।

‘उम्मेद्वार सिफारिसको अधिकार गाउँ तहसम्मलाई दिने गरी विधान मस्यौदा भईरहेको छ । त्यसो गर्दा तलैबाट छानिएर आउने व्यवस्था हुन्छ त्यो व्यवस्थित पनि हुन्छ’ प्रवक्ता लेखकले भने, ‘प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा निर्वाचन बाहेक क्षेत्र, नगर, गाउँ लगायत स्थानमा हुने निर्वाचनका लागि उम्मेद्वार छनोटको अधिकार नयाँ विधान लागु भएपछि सम्बन्धित निकायले नै पाउने छन् ।’

त्यस्तै प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ विधानमा बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था समेट्ने तयारी भइरहेको बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्