गोरखा, १७ पौष २०७५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरू सिद्धान्तमा अझै कन्फ्यूज भएको बताएका छन् । वरिष्ठ नेता पौडेलले अहिले पनि समाजवाद कि जनवाद भनेर नेपाल कम्युनिष्ट पार्टीका नेताहरू रूमलिरहेको बताएका हुन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस गोरखाले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘ अहिले पनि केपी ओली जनवाद भनेर भन्दै हुनुहुन्छ अनि प्रचण्ड चाहीँ समाजवाद भन्दै हुनुहुन्छ। उहाँहरू अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ।’

वरिष्ठ नेता पौडेलले सिद्धान्तमा नै कन्फ्यूज भएको शक्तीले मुलुकमा समृद्धि ल्याउन नसक्ने बताए। कम्युनिष्टहरूको सिद्धान्तको टुंगो नलागेका कारण अहिलेको कम्युनिष्ट सरकार गतिहीन बनेको पौडेलको भनाइ थियो । नेपालका कम्युनिष्टहरू नारा लगाउन सिपालु भएको बताउँदै पौडेलले भने,‘कम्युनिष्टहरू थुतुनो चलाउन सिपालु छन्। काम गर्ने ढंग छैन। त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि कांग्रेसले नै नेतृत्व लिनुपर्छ।’

सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउँदै उनले देशभर कांग्रेसका पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउँछ भन्ने कल्पना गर्न नसकिने स्पष्ट पारे ।

सुशासनको चर्को भाषण गर्ने केपी ओलीको सरकार अहिले काण्डै काण्डमा फसेको पौडेलले आरोप लगाए । उनले वर्तमान सरकारका वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्डलगायत कयौँ काण्डमा सरकार मुछिएको आरोप लगाए। उनले बूढीगण्डकी विनमा प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिएर भ्रष्टचार भएको जिकिर गरे ।

पौडेलले कांग्रेसले राष्ट्रियताका लागि मेलमिलाप आवश्यक रहेको निष्कर्षमा अझै रहेको बताए । उनले कांग्रेस सच्चा राष्ट्रवादी शक्ति बताउँदै उनले भने,‘कांग्रेस राष्ट्रवादी शक्ति हो। कांग्रेस हिमाल, पहाड र तराईलाई एकै ठाँउमा राख्ने प्रयासमा लाग्यो तर, चुनावमा बेलामा मधेसलाई विहारमा मिसाउँदा हुन्छ भन्ने केपी ओलीलाई राष्ट्रवादी भनियो। अब कांग्रेसले सच्चा राष्ट्रवादी शक्ति हो भनेर जनतालाई बुझाउन जरूरी छ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्