काँग्रेस पदाधिकारी मनोनयन उपसभापतिमा निधि , महामन्त्रीमा खड्का र सहमहामन्त्रीमा महत

अजय अनुरागी/ लाेकान्तर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले विमलेन्द्र निधिलाई उपसभापतिमा मनोयन गरेपछि जनकपुरमा खुशियाली छाएको छ ।

नेपाली कांग्रेसको स्थापनामा तराई मधेशका नेताहरूको योगदान रहे पनि पार्टी नेतृत्वको सबैभन्दा उपल्लो तहमा पुग्ने मधेशी मुलका पहिलो ब्यक्ति बन्न निधि सफल भएका छन् । यस अघि महामन्त्रीसम्म भने केही मधेशी मुलका नेताहरु पुग्न सफल भए पनि उपसभापति बन्ने निधि पहिलो मधेशी समुदायका नेता हुन् ।

यस अघि उनी आफै पनि महामन्त्री भएका थिए भने महामन्त्रीमा पराजित पनि भएका थिए । कांग्रेसका संस्थापक नेता समेत रहेका उनकै बुवा स्वर्गीय महेन्द्र नारायण निधि पनि महामन्त्री बनेका थिए ।

धनुषाकै डा.रामबरण यादव जो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न सफल भएका थिए, उनी पनि महामन्त्री बनेका थिए । त्यस अघि कोषाध्यक्ष पदमा महन्थ ठाकुर, चित्रलेखा यादव र अहिले सीता देवी यादव बनेका छन् ।

कांग्रेस धनुषाका सभापतिसमेत रहेका प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव उपसभापतिमा निधि मनोनयन भए पछि पुरै प्रदेश, तराई मधेश र देशकै कार्यकर्ताहरू गौरवान्वित महशुस गरिरहेको प्रतिक्रया दिएका छन् ।
आगामी महाधिवेशनमा सभापतिको प्रबल दावेदार निधि हुने यादवले बताए ।

देउबाको दरिलो खम्बाका रूपमा निधि उभिएका थिए । देउबालाई सभापति बनाउनेदेखि अहिलेसम्म उनको साथ दिँदै आए, त्यसकै प्रतिफल देउबाले पनि उनलाई उपसभापतिमा मनोनयन गरेको यादवले बताए ।

निधिको राजनीतिक यात्रा


विमलेन्द्र निधि जनकपुरको सरस्वती माविमा कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । ९ कक्षामा रहेका बेला उनले नेविसंघको नेतृत्वमा त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस राराब जनकपुरमा स्ववियूको नेतृत्व कसले गर्ने भन्ने रणनीतिहरु बनाउथे ।

जब उनी १० कक्षामा पुगे आनन्द ढुङ्गानालाई स्ववियू सभापति बनाए र आफु निकट गणेश तिवारीलाई सचिवमा जिताए । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै पञ्चायती व्यवस्था विरुद्ध कालो झण्डा देखाउने क्रममा रामप्रसाद गिरी, विमलेन्द्र निधि, महन्थ ठाकुर, रामकिशोर यादव पक्राउ परी जलेश्वर जेल गएका थिए ।

करिब ४÷५ महिनापछि उनी रिहा भएका थिए । फेरी २०२९ सालमा भएको विद्यार्थी आन्दोलनमा पक्राउ परी सिन्धुली जेल चलान गरिए । एक महिना पछि उनी रिहा भए । २०३१ सालमा बम काण्डमा उनी गिरफ्तार परे । जनकपुरको क्षेत्रिय प्रहरी कार्यालयमा बम विस्फोटन गराउने उद्देश्यले निधिले भारतको बनारसबाट बम ल्याएका थिए । तर, कुनै कारणवस त्यो रणनीति सफल हुन सकेन । र, बम फिर्ता गरियो । तर उनलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइयो र १६ महिनापछि जेलबाट निधि मुक्त भए ।

२०३३ सालमा निर्वासित जीवन विताईरहेका विपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर जनकपुर आए । विपीलाई विभिन्न ७ वटा मुद्दाहरुमा फाँसी सजाय तोकिएको थियो । विमलेन्द्र निधिले २५ सुत्रिय माग राखेर जनकपुरको राराब क्याम्पसमा हडताल सुरु गरे ।

विमलेन्द्र निधिलाई समातेर जलेश्वर जेल पठाइयो । तै पनि उनीसँगैका विद्यार्थी नेताहरुले हडताल जारी राखे । त्यसपछि विद्यार्थी नेताहरु रामसरोज यादव, गणेश तिवारी, संजिव थापा, ज्ञानेन्द्र राउत, सविना कोइराला, दिगम्बर राय, दामोदर खनाल पक्राउ परे । २० महिना पछि शान्ति सुरक्षा मुद्दामा पक्राउ परेका निधि जलेश्वर जेलबाट रिहा भए ।

राराब कलेजमा त्यति बेलाका क्याम्पस प्रमुख बैकुण्ठ मान बिजुक्छेले निधि र सविना कोइरालालाई कलेजबाट निस्काशन गरेका थिए । राम सरोज यादव, पुरुषोत्तम ढकाल, बरुण मिश्र लगायतलाई साढे ३ बर्षको लागि विश्व विद्यालयबाटै निष्काशन गरेका थिए । कलेजबाट निष्काशन भएपछि निधि काठमाण्डौ लागे । त्यहाँ पाटन क्याम्पसमा आइएमा अध्ययन गर्न थाले ।

नेविसंघको नेतृत्व

२०२७ सालमा विपिन कोइरालाको नेतृत्वमा नेपाल विद्यार्थी संघको गठन गरिएको थियो । २०२९ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेविसंघका महामन्त्री डा. रामशरण महत, चिरञ्जीवी बाग्ले लगायतका विद्यार्थी नेताहरु पढ्न गएपछि उक्त समिति निष्किृय थियो ।

त्यसपछि २०३३ सालमा निर्वासित जीवनमा रहेका विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउन लाग्दा केन्द्र र जिल्लामा सक्रिय रहेका विद्यार्थी नेताहरुलाई लिएर देउवाको अध्यक्षतामा एउटा नयाँ कमिटि बनाइयो । महामन्त्रीमा हरि न्यौपाने, केन्द्रिय सदस्यहरुमा जनकपुरका महेश शंकर गिरी र विमलेन्द्र निधिलाई पनि राखियो । उक्त कमिटिले प्रतिबन्धित अवस्थामै काठमाण्डौ र देशैभरीमा संगठन गर्न थालियो । २०३६ सालको विद्यार्थी आन्दोलनमा बहुदलको प्रचार प्रसार गर्नका लागि देउवालाई पश्चिमको कमाण्ड दिइयो ।

बल बहादुर केसीलाई नेविसंघको कार्यबाहक सभापति र शिव भुर्तेललाई महामन्त्री बनाइयो । त्यसपछि नेविसंघको महाधिवेशन सप्तरीम ागर्ने तयारी भयो । तर, महेश शंकर गिरी लगायत तराईका कतिपय विद्यार्थी नेताहरुले महाधिवेशन जनकपुरम ागर्ने भनेपछि महाधिवेशन जनकपुरमा तय गरियो ।

२०३६ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा सैलेजा आचार्यले निर्वासित जीवन बिताएका दिलबहादुर घर्तीलाई र बेनुक प्रसाईलाई बलबहादुर केसी र दमननाथ ढुङ्गाना लगायतले सभापति बनाउन चाहन्थे । तर, तराई मधेसका विद्यार्थीहरुले विमलेन्द्र निधिको नाउँ प्रस्ताव गरेपछि विपीले पनि अन्ततः निधिलाई नेविसंघको सभापतिमा मनोनित गरेका थिए ।

विपीको उक्त निर्णयबाट असंतुष्टि जाहेर गर्दै प्रकाशमान सिंह र नमेन्द्र राज जोशी लगायतका विद्यार्थी नेताहरु महाधिवेशन बहिष्कार गरी काठमाण्डौ फर्किए । पछि जोशीलाई केन्द्रिय सदस्यमा मनोनित गरियो । दिलबहादुर घर्तीलाई महामन्त्री र जनकपुरका महेश शंकर गिरीलाई कोषाध्यक्ष बनाइयो ।

निधिको त्यहाँबाट राष्ट्रिय पहिचान स्थापित भयो । २०३६ सालको जनमत संग्रहमा बहुदल हारेपछि काठमाण्डौको टुडिखेलमा गरिएको आमसभामा विद्यार्थी नेताको रुपमा विमलेन्द्र निधिले दरबारलाई चेतावनी दिएका थिए । त्यतिबेला राजाले सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भनेर भनेपछि निधिले खुलामञ्चबाट राजा विरेन्द्रलाई ललकार्दै के भनेका थिए भने म नेपाली पञ्च होइन हामी नेपाली हौं । त्यसपछि टुडिखेलबाट उनी पक्राउ परेका थिए । करिब डेढ महिना पछि उनी रिहा भएका थिए ।

२६–२९ वैशाख , २०५३ मा नेपाली काँग्रेसको ९ औं महाधिवेशनमा सभापति पदका लागि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विरुद्धमा चिरञ्जीवि वाग्लेको उम्मेदवारी पर्यो । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माँग गर्दै तात्कालीन समान्य प्रशासन मन्त्री विमलेन्द्र निधिसहितका नेताहरुले वाग्लेको उम्मेदवारीका लागि कोइराला विरुद्ध काँग्रेसभित्र खुलेरै अभियान चलाए । वाग्ले पराजित भए । बाग्लेले ३५० मत ल्याएका थिए भने कोइरालाले ९०० भन्दा वढी मत ल्याएका थिए । उनी आफै पनि केन्द्रिय सदस्यमा जनकपुर अञ्चलको कोटामा भिम बहादुर तामाङबाट पराजित भए ।

गान्धीवादी छबीका महेन्द्र नारायण निधि, कृष्णप्रसाद भट्टराईले सभापतिमा कोइरालालाई समर्थन गर्दागर्दै देउवा, वाग्ले र विमलेन्द्र निधिले अलग्गै धारको नेतृत्व गर्दै पार्टीमा संघर्ष गरे । र, निधिले त्यत्तिबेलादेखिको देउवासँगको सहकार्यलाई अझै निरन्तरता दिएका छन् ।

पार्टीभित्र महामन्त्री हुँदाहुँदै सभापति वा प्रधानमन्त्री बन्न सक्ने अवसर नदेखेर मूलधारको राजनीतिबाट विश्राम लिँदै महेन्द्रनारायण निधि जनकपुर फर्किए । महेन्द्र नारायण निधि पार्टीभित्रकै अहम जिम्मेवारी सम्हालिरहँदा नेविसंघबाट राजनीति यात्राको सुरुवात गरेका विमलेन्द्र निधि पार्टीभित्रको युवा पंक्तिको नेतृत्व गर्ने हैसियतमा पुगेका थिए । नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादबका अनुसार पारिवारिक पृष्ठभूमिले राजनीतिमा आएपनि निधि आफ्नो बाटो आफैं तय गरेर यहाँसम्म आइपुगेका छन्, राजनीति नगरेका उनका दाजु नवेन्द्र निधिले विरासत केही पाए त ? वास्तवमा पार्टीभित्र गिरिजाप्रसाद कोइराला विरुद्ध वाग्लेको उम्मेदवारी महेन्द्र नारायण निधिलाई पनि पचेन ।

९ औं महाधिवेशनमा नै निधिले जनमञ्च साप्ताहिक पत्रिकामा अन्तरवार्ता दिँदै अबको नेतृत्व दोस्रो पुस्तामा आउनुपर्छ भनेर भनेका थिए । उनले पार्टीको नेतृत्व गरिरहेका गिरिजा प्रसाद कोइरालालाई संकेत गर्दै शेरबहादुर देउवाको नेतृत्व आउनुपर्ने भनि लवि गरेका थिए । त्यसपछि देउवा निधि विरुद्ध फायर भए । किनभने पार्टीमा कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंह विरुद्ध बोल्ने कसैको आँट हुँदैन्थ्यो । देउवाले मेरो घाँटी रेटिदियौ भनेर निधिलाई भन्दा आफ्नो मनमा जे लाग्यो त्यो बोलेको भनेर निधिले जवाफ फर्काए । बुवा महेन्द्र नारायण निधिको ईच्छा विपरित विमलेन्द्रले केन्द्रिय सदस्यमा शेष इद्रिश विरुद्ध आफ्नो उम्मेदवारी दिए ।

निधिले कात्तिक २०५१ मा भएको मध्यावधि चुनाबमा धनुषा क्षेत्र नं ४ जनकपुरबाट नेकपा एमालेकि शारदा झालाई पराजित गरी पहिलोपटक जनप्रतिनिधिका रुपमा निर्वाचित भए । बुवा महेन्द्र नारायण निधिले २०४८ सालको चुनाबमा २२ हजार मतले जितेको क्षेत्रमा एमालेकी चर्चित नेतृ शारदा झालाई ५ हजार मतले पराजित गर्दै निधि पहिलोपटक सांसद भएका थिए ।

९ औं महाधिवेशनअघि र पछि सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा समान्य प्रशासन मन्त्री भएर पहिलोपटक सिंहदरबार छिरेका निधिले त्यसयता हालसम्म तीनपटक मन्त्री भए । ६ असोज २०५९ मा काँग्रेसबाट काँग्रेस प्रजातान्त्रिक टुट्दा शेरबहादुर देउवासँगै प्रजातान्त्रिकमा गएका निधि ८ असोज २०६४ का दिन नेपाली काँग्रेसमा ‘मर्ज’ हुँदा काँग्रेसको महामन्त्रीको हैसियतमा पुगे । शेरबहादुर देउवाको मन्त्रीमण्डलमा शिक्षामन्त्री, संविधानसभाको दोस्रो निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा यातायात मन्त्री र हाल पुष्पकमल दहाल नेतृत्वको सरकारमा काँग्रेसको नेतृत्व गर्दै उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

पहिलो र दोश्रो संबिधान सभाको निर्बाचणमा लगातार धनुषा क्षेत्र नम्बर ३ बाट जित्न सफल भए पनि पछिलो पटक भएको प्रतिनिधि सभाको निर्बाचणमा भने उनी पराजित भए । राजपाका नेता राजेन्द्र महतोले उनलाई पराजित गरेका थिए । यस अघि पनि जनकपुरबाट उनी राप्रपाका कृष्ण प्रताप मल्लबाट पराजित भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्