काठमाडौं, १५ फागुन २०७६ । उद्यमी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

यसअघि गृहजिल्ला बागलुङबाट उम्मेदवारी दिने उद्घोष गरेका उनले काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा आगामी चैतमा हुने महासंघको वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ढकाल हाल महासंघमा उपाध्यक्ष छन् ।

अब महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल र किशोरकुमार प्रधानबीच प्रतिस्पर्धा हुनेछ । प्रधानले गृहनगर विराटनगरमा कार्यक्रम गरी यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । त्यसैले महासंघको राजनीतिमा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पदमै प्रतिस्पर्धा हुन थालेको हो ।

बुधबार आयोजित कार्यक्रममा बोल्दै ढकालले सबै उद्योगी व्यवसायीको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

‘तपाईंहरुको मनोबल सधैं उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु,’ कार्यक्रमका उनले प्रतिबद्धता व्यक्त गरे ।

राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए ।

साथै उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए ।

‘महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग वाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्वउपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगायत निजी क्षेत्रका अगुवाको ठूलो उपस्थिति थियो ।

को हुन् ढकाल ?

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मेका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य थिए ।

उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् ।
कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत्, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष छन् ।
समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुन् । उनी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत पनि हुन् ।