काठमाडौं, शनिबार, १७ साउन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ लाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उनले शनिबार ‘ई’ सत्याग्रहमा बसेको स्थल बसन्तपुर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सभापति देउवाले ‘इनफ इज इनफ’ को जारी शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्धता पनि जनाए । उनले सत्याग्रही ‘ई’ ले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताए ।

“हाम्रो पार्टीको, पूरा जनताको ऐक्यवद्धता छ,” सत्याग्रही ‘ई’ लाई भेटेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “मान्छे मर्न दिनुहुँदैन । ओली सरकारले तुरुन्त मानिस पठाएर उहाँ (ई) को माग पूरा गरेर उहाँलाई बचाउनुपर्छ ।”

सभापति देउवाले ‘इनफ इज इनफ’ का अभियन्तामाथि ठाउँ–ठाउँमा भइरहेको धरपकडको विरोधसमेत गरे ।

‘इनफ इज इनफ’ ले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन गइरहेका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार नै सत्याग्रही ‘ई’ लाई कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पनि भेट गरेका थिए । यस्तै ‘ई’ लाई शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पनि भेट गरेको ‘इनफ इज इनफ’ मन अभियन्ता मध्येका एक लोचन आचार्यले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्