गोर्खा, २६ मङ्सिर २०७५ । आरुघाट गाउँपालिकाले बजार व्यवस्थापनको प्रयास सुरु गरेको छ । आरुघाट र आरेखत बजारमा देखिएको समस्याहरुलाई तत्काल नियन्त्रण गर्न विभिन्न निर्णय गरिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए । ‘आरुघाट र आरखेतको बजार क्षेत्र निकै अव्यवस्थित भयो भन्ने गुनासो आयो’ उनले भने ‘त्यसैले सरोकारवालाहरुलाई बोलाएर केही महत्वपूर्ण निर्णय गरेको छु ।’ जसअनुसार बिहान ९ बजे देखि ११ बजेसम्म र बेलुका साडे ३ बजे देखि ५ बजेसम्म बजार क्षेत्रमा मालबाहक सवारी साधनलाई सामान लोड अनलोड गर्न प्रतिबन्ध लगाइएको छ ।

सो समयमा विद्यालय आउने जाने विद्यार्थी, शिक्षक, कर्मचारीहरुको चाप बजारक्षेत्रको सडकमा बढि देखिएकाले दुर्घटनाको जोखिम कम गर्न उक्त निर्णय गाउँपालिकाले जनाएको छ । यसैगरी बजार क्षेत्रमा हर्न निषेद समेत गरिएको छ । ‘यो टुरिस्ट एरिया पनि हो, विद्यालय, कार्यालयहरु सबै सडक आसपास नै छन्’ अध्यक्ष दाहालले भने ‘ठुलो स्वर हर्न बजाउँदा डिस्टर्ब भयो त्यसैले यसलाई प्रतिबन्द्ध लगाइएको हो ।’

यसैगरी आरुघाट गाउँपालिकाले बजार क्षेत्रका व्यापारी व्यवसायीलाई फुटपाथ अतिक्रमण नगर्न निर्देशन दिएको छ । अबाधी बढेसँगै सो क्षेत्रमा बजार बिस्तार भएपछि फुटपाथ मिच्ने क्रम बढेको हो । ‘सडक सम्म सामान फिँजाएर राख्दा पैदल यात्री र सवारी साधन दुबैलाई असजिलो भएको छ’ उनले भने ‘त्यसलाई हटाउने निर्णय पनि गरेका छौं ।’

अब देखि आरुघाट र आरखेत बजारका व्यापारीले आफ्नो घरको पेटी भन्दा बाहिर सामान राखेर व्यवसाय गरे कारवाही गर्ने गाउँपालिकाले बताएको छ । पहिले सबैलाई सचेत गराउने यदी त्यसो गर्दा पनि अटेर गरे कारवाही गर्ने अध्यक्ष दाहालको भनाई छ । उद्योग वाणिज्य संघ आरुघाट बजार इकाई, इलाका प्रहरी कार्यालय आरुघाट, ट्राफिक प्रहरी, स्थानीय वृद्धिजिवी एवं सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेश गर्न मुख्य नाका आरुघाट जिल्लाकै दोश्रो ठुलो बजारका रुपमा चिनिन्छ । संसारकै लोकप्रिय मनास्लु पदमार्गको प्रवेशद्धार समेत रहेको आरुघाट बजार बुढीगण्डकी डुबान क्षेत्रमा पनि पर्छ । आयोजना निर्माणका लागि सरकारले जग्गा रोक्का गरेपनि हालसम्म मुआब्जा निर्धारण भने हुन सकेको छैन । जसले गर्दा त्यहाँको व्यापार व्यवसायमा ठुलो मार परेको स्थानीयहरुको गुनासो छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्