काठमाडौँ, १५ साउन २०७५ । सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाउँदै नेपाली कांग्रेस आज सरकारविरुद्ध देशैभर प्रदर्शनमा उत्रिँदैछ । सरकारको अधिनायकीपनमाथि खबरदारी गर्न ७७ वटै जिल्लाका साथै मुलुकबाहिर समेत लगभग ३३ देशमा प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित हिंडेको ठहर कांग्रेसले गरेको छ भने विरोध कार्यक्रमअन्तर्गत विभिन्न दशवटा मुद्दा अघि सारिएको छ ।

कांग्रेसले यसपटक अघिसारेका मुद्धामा संवैधानिक व्यवस्थाअनुसार सभामुख र उप-सभामुख फरक दलबाट हुनुपर्ने, शक्ति पृथकीकरणको सम्मान गरिनुपर्ने, संवैधानिक निकायलाई कार्यकारीको छायामा पार्न नहुने, अधिकार केन्द्रिकृत गर्न नहुने, अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्न नहुने, ६५ वर्ष पुगेका जेष्ठनागरिकलाई वृद्ध भत्ता दिने पूर्ववर्ती देउवा सरकारको निर्णय उल्ट्याउन नपाइने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिनुपर्ने, भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने, संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्नुपर्ने र प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्नुपर्ने रहेका छन् ।

यीमध्ये, मूल्यवृद्धिप्रति सरकार गम्भीर नभएको, संवैधानिक अंगमा हस्तक्षेप, संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेको जस्ता गतिविधिप्रति कांग्रेस ज्यादा रुष्ट देखिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्