मानु खाएर मुरी उब्जाउने”, महिनाजस्ता लामा दिन छन्। बिहानै चिबेचरीको चिरबिरबाट जागेको जगत् साँझ सात साढे सात बजेसम्म सक्रिय रहन्छ। साँझ हल फुकेपछि पनि आफ्नो निवासस्थलसम्म पुग्न एकाध घण्टा हिँड्नै पर्‍यो। वास्तवमा भन्ने हो भने बिहान चार बजेदेखि सुरु भएको सक्रियता दिनभरि खेतको कामपछि साँझको खानपिन, चुलोचम्को भ्याइँदासम्म ९-१० बज्ने गर्छ। यसरी १७/१८ घण्टासम्म व्यस्त रहँछन् धरतीपुत्रहरू। दशनङ्ग्री खियाएर रगत, पसिना बगाएर, दुबोले जेलिएको र जरिर्एको, चाम्रो माटो जोतेर, ताछेर, हिलाएर, मोही लगाएर नौनीसरि बनाएर त्यसमा धान रोपिन्छ। असारे मेहनत मंसिरमा प्रकट हुन्छ। पहेँलपुर धानका बाला झुलाएर समस्त धरतीका जनहरूलाई जाउलोको जोहो मिलाइदिने ती सम्पूर्ण हली दाइ, बाउसे, खेतालीहरूलाई हार्दिक अभिनन्दन गर्न मन लाग्छ। र, यो कृषिकर्मको शुभारम्भ गरिने असार पन्ध्रलाई म सलाम गर्छु

कृषिप्रधान देश नेपालमा असार पन्ध्रको आफ्नै विशेषता र महत्व छ। सिंचाईको समुचित विकास भएका ठाउँमा खेतीपातीको सिजन (मौसम) जहिले पनि हुन सक्छ तर सिंचाईको स्थायी स्रोत नभएका ठाउँमा मनसुनी वर्षाको प्रतीक्षा गर्नुपर्ने हुन्छ र त्यो मनसुनी वायुको प्रभाव असार १५ सम्म आइपुग्दा यत्रतत्र विस्तृत भइसक्ने हुँदा पानीको छ्यालब्याल हुने गर्छ। विगत ४-५ वर्ष यता आएर ग्लोबल वार्मिङ भनौँ या वातावरणीय असन्तुलनले गर्दा भनौँ असार १५ सम्म पनि मनसुनी वायु सक्रिय नभई हाहाकारको खडेरीले धरती आक्रान्त भएको देखिन्छ। परन्तु विगतका समयमा यस्तो थिएन। अहिलेको अधिकांश मान्छे जसरी दया, माया, करुणा र कर्तव्यबाट टाढा हुनगई धर्म छाड्दै गएको छ, त्यसै गरी प्रकृतिले पनि धर्म छाडेजस्तै लाग्छ। असार पन्ध्रमा छ्यालब्याल पानी देखिन छाडेको छ। असार पन्ध्रको धर्म धान्नका लागि मात्र भए पनि किसानहरू पम्पसेटबाट पानी तानेर रोपाइँ गर्न थालेका छन् तर मनसुनी वायुले धर्म नछाड्ने हो भने असार पन्ध्रसम्म आइपुग्दा हरेक गाउँ-बेंसीका फाँट र टारी टुकुरामा खेत रोप्ने कर्मको शुभारम्भ भइसक्छ। वर्ष दिनभरिलाई खाने अन्न उत्पादनको प्रारम्भिक कालको महत्त्व यसै पनि हुने नै भयो, असारमा गाडेको गाबो गाँजिएर आउने र राम्रो फसल उत्पादन हुने हुँदा यसको झन ठूलो महत्त्व छ। यही खेतीपातीको सुरुवात वा प्रारम्भिक बेलाको समय असार पन्ध्र नेपाली ग्रामीण जनजीवनमा एउटा चाडको रूपमा स्थापित भई हाम्रो संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ।

ज्यामिरे, बिरुवा, सिसुवा वा निबुवाको फाँट होस् बाह्रबीसे, सातबीसे वा सेराको फाँट होस् उज्यालो हुनुभन्दा अगावै रोपाइँ गर्ने गरामा कुलाको पानी सोझयाउनेहरूको चहलपहल सुरु भइसक्छ। बिहानको आठ बज्दानबज्दै गाउँनेरका पीपलको चारपाटे चौतारीमा हली-बाउसे र खेतालीहरूको सानोतिनो भीड तल बेंसीको फाँटबाट प्रस्ट देखिन्छ। काँधमा हलोजुवा भिरेका हलीहरू, कोदाली र बाउसो समातेका बाउसेहरू हलगोरु खेद्दै बिस्तारै बेंसीतिर र्झछन्। हिलोमा रोपाइँ गर्ने भए तापनि सलक्क कपाल कोरी, चुल्ठेडोरी बाटेका निधारमा टीका, चुल्ठामा पातीको पात सिउरेका खेतालीहरू मसक्क मस्किदै असारे गीतको रंगीचंगी भाकामा रमाउँदै बेंसीतिर र्झछन्। सम्पूर्ण फाँटभरि रोपाइँको चहलपहल र रमाइलो आफ्नै पाराको हुन्छ।

असारै मासको दब्दबे हिलो छि मलाई घिन लाग्यो ।

पातली नानीलाई फरिया किन्दा छबीस रिन लाग्यो।

आदि इत्यादि असारे गीतहरूको रमाइलो सरगममा सम्पूर्ण फाँट नै रसमय बन्छ। हाँसो, ठट्टा र गीतको छेडखानीको रसमा हिलो छेपाछेप गर्दै रोपाइँ जस्तो कठोर शारीरिक श्रम खर्चिनुपर्ने काम भए तापनि दिन गएको पत्तै हुँदैन। सबैमा नौलो उत्साह र उमङ्ग रहन्छ। यी असारे गीतहरूले गर्मीका प्रचण्डताको प्रभाव र कामको चटोरालाई मत्थर पार्छ र रसमय बनाउँछन्। दिउसोको खाजा खाने बेला हुन्छ। घर-घरका आ-आफ्नै परिकार हुन्छन्। हली बाउसेका लागि छुट्टै व्यवस्था हुन्छ र खेतालीहरूका लागि छुट्टै। असार पन्ध्रका लागि भनेर चिउरा कुटिन्छन्। सिरौँलाका खट्टे भुटिन्छन्। दही-चिउरा असार पन्ध्रको प्रचलित व्यञ्जन हो तापनि सेलरोटी, गहुँका पुरी घिउमा भटारेको पहेँलै चाम्रे पनि रोपाइँ गर्दा खाइने स्वादिष्ट खाजाका परिकार हुन्। करेला र आलुको अचार, भाङ र तिलको छोपले लाटो भएको जिउलाई पनि टाँठो बनाइदिन्छ। दारको ठेकीमा जमाएको एकराते दहिले खाजाको स्वादलाई झन तिक्खर बनाइदिन्छ। खेतको आलीमा, कतै रुखको सिँयालमा वा नजिक कतै धारो-चौतारकै आसपास बसी खाजा खाइन्छ। टाढाको मेलो हुने बेंसीका फाँटहरूमा दिउसो खाजा खानका लागि र घामपानीबाट एकैछिन जोगिनकै लागि स-साना गोठ र कटेराहरू पनि बनाइएका हुन्छन्।

अचेल पोखरातिर असार पन्ध्र मनाउने नयाँ चलन चलेको छ। लेकसाइड बैदामतिरका पर्यटकहरूलाई रोपाइँमा सरिक गराइन्छ। हिलोमा दौडने ‘हिले रेस’को आयोजना गरिन्छ। पञ्चेबाजा बजाई धुमधामसँग रोपाइँ गरिन्छ। कहिले हेमजाको फाँट, कहिले बिरुवाको फाँट त कहिले कुँडहर फाँटमा असार पन्ध्रको रोपाइँ महोत्सवको आयोजना हुन्छ। महोत्सव मनाउनु एउटा पक्ष हो तर बेंसीका फाँटमा वास्तविक किसानले सलक्कका माछीकाँडे आली हाल्दै र चिल्लो पार्दै छेउकुनामा मोही वा  लगाएर खेत रोपेको जस्तो जीवन्तता त्यस्ता आयोजनाहरूमा नहुने रहेछ।

झमझम गरी बर्सिदेओस् असारको मैना ।

गदगद गरी हाँस्छ बल्ल मनेको मेरो ऐना।।

राम्रो वर्षाको कामना गर्छन् किसान दाजुभाइहरूले। खडेरीले गर्भे हिलो सुकाएर खेतका गरामा धाँजा फाट्यो भने रोपो सप्रिँदैन। पछि जति पानी लगाए पनि गरामा अडिँदैन। जुवानेले सर्लक्क ढाक्यो भने रोपो सप्रिँदैन। उत्पादनमा निकै ह्रास हुन्छ। त्यसैले राम्रोसँग हिल्याएर दुर्इ मोही तीन मोही लगाएर मेलो सप्रियो भने खेतमा पानी अडिन्छ। धान राम्रो फल्छ। असार पन्ध्रको गरिमा खस्कँदो छ। न गाउँ न शहरका दोसाँधमा रहेका कैयन ठाउँका मलिला फाँटहरू घडेरीका रूपमा खण्डित भइरहेका छन्। शहरतिरका समतल फाँटहरू त कंक्रिटको जङ्गलभित्र लोप भइसके। भनिन्छ, आधा चितवन बाँझै छ। धान र तोरीका लागि अब्बल मानिने चितवन र रापती दून दलालहरूले तहसनहस पारिसके। सरकार कुन्नि के हेरेर बस्छ – एवंरीतले धान फल्ने समतल र मलिला फाँटहरू बिनायोजना, बिनामापदण्ड मासिँदै गए भने धान रोप्ने खेत जुम्लामा गई खोज्नुपर्ने हुन्छ। अर्मपर्म, परेली र मेलापातको चलन हराउँदै गइरहेका छन्। युवाशक्ति जति खाडीका मुलुकतिर छन्। कोही मलेसिया र कोरियाका कारखानामा छन्। युवा वर्ग कृषिकर्मबाट विमुख हुँदैछ। पेशा रूपान्तरणको अभ्यासमा छ। किन्तु भरपदो र दिगो कुनै पेशा अँगाल्न सकिरहेको छैन। त्यसैले अहिलेको पुस्ता ठूलो संकटमा छ। संक्रमणमा छ। दास मानसिकताबाट अहिलेको पिँढी पीडित छ। कृषिकर्ममा कसैको दिलचस्पी छैन। ठूलो मेहनतले दशनङ्ग्री खियाएर उत्पादन गरेको कृषि उपजको बजारको अभावमा कुनै मूल्य छैन। तस्करी, दलाली र कालो बजारीले प्रश्रय पाउने र पुजिने ठाउँमा श्रमबिन्दुको के महत्व – त्यसैले धरतीपुत्रहरू निराश छन्, उदास छन् र कुण्ठित छन्। धरतीमा सुन फलाउनेहरू, माटोको सुगन्धसँगै रमाउनेहरू हराउदै छन। माटोको महिमा र असारको गरिमा नबुझनेहरू मौलाउँदै छन्। तैपनि हिजो रातिबाट परेको अविरल वर्षाको रिमझिमले कटुजे तलको झौरीखेतमा सञ्चालन भएको रोपाइँको महोत्सव देखेर असार पन्ध्रको सम्झना दिलायो र यहाँहरूको समक्ष यिनै शब्दहरूद्वारा माटोको महिमा र असार पन्ध्रको गरिमा गीत गाएको छु।…..

प्रदेशिलाई जुन पर्व जुन मेला र जेन बेला आए पनि अतितको सम्झनामा बर्तमानमा स्मरण अनि भबिश्यको चिन्ताले गाँजिरहेको हुन्छ। अन्तमा सबैलाई 15 असारको शुभकामना।… ओम पाण्डे, साउदी अरब। 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्