गोरखा, १२ मङ्सिर २०७५ । भूकम्पले क्षति पुगेको गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको छ।

आज (बुधाबार) देखि भक्तजनले पुनर्निर्माण भएको नयाँ मन्दिरबाट पूजाआजा सुरु गरेका छन्।

२०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा व्यवस्थापन मिलाइएको थियो।

मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठका अनुसार जगैदेखि भत्काएर मन्दिर पुनर्निर्माण गर्दा करिब १५ करोड रुपैयाँ खर्च भएको छ।

मन्दिर पुनर्निर्माण गर्न सरकारले चार करोड रुपैयाँ दिएको थियो। अरु रकम भक्तजनबाट चन्दा उठाइएको रकम हो। पुरातत्व विभागका इञ्जिनयरहरूको प्रत्यक्ष निगरानीमा जीर्णोद्धार भएको मन्दिर प्यागोडा शैलीमा बनाइएको छ।

मन्दिरको छानामा १८ किलोग्राम सुनको जलप लगाइएको छ। तामाको पातामा सुनको जलप लगाएर मन्दिरको छानो आकर्षक बनाइएको हो।

गोरखाका तत्कालीन राजा राम शाहकी रानीले चार सय वर्षअघि १७ औं शताब्दीमा मन्दिर बनाएको इतिहास छ।

वि.सं. १९९०, २०४५ र २०७२ का भूकम्पको धक्काबाट यो मन्दिर नढले पनि यसका केही भागमा क्षति भयो। मन्दिर पूजाआजाका लागि स्वदेशी र विदेशी गरी दैनिक पाँच हजार हाराहारीमा भक्तजन पुग्छन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्