अमेरिका, २३ भाद्र २०७६ । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको नेतृत्वका लागि युवा नेता शिव ढकालले दावी गरेका छन् ।

पार्टीले अधिवेशन नभएका र विवादित सबै मुलुकका जनसम्पर्क समितिको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशन दिएलगत्तै विश्वभरका जनसम्पर्क समितिको चुनावी सरगर्मी सुरु भएको छ ।

यति बेला अमेरिकामा पनि जनसम्पर्क समितिको अधिवेशनको चहलपहल देखिन थालेको छ । सबैभन्दा बढी चर्चामा रहने र पार्टीको पनि बढी चासो रहने जनसम्पर्क समिति अमेरिकाको आगामी अधिवेशनमा नेतृत्वका लागि दौडधुप र लबिङ सुरु भएको छ ।

नेपाल विद्यार्थी संघका नेतासमेत रहेका युवा नेता ढकालले पनि जनसम्पर्क समितिको अध्यक्षका लागि उम्मेदवारका रुपमा तयारी सुरु गरेका छन् । गोरखा घर भएका ढकाल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विश्वविद्यालय कीर्तिपुरका सहसचिवका रुपमा काम गरिसकेका ढकाल गोरखा जिल्ला नेविसंघ कार्यसमिति सचिव पनि रहिसकेका छन् । उनी त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छँदा विद्यार्थीहरुबीच निकै लोकप्रीय थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर ढकालले चीनबाट अर्थशास्त्रमा एमफील गरेका छन् ।

राजनीतिक परिवारमा जन्मिएका ढकालका हजुरबुबा स्व। बुद्धिप्रसाद ढकालले आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्र प्राप्तिको लडाइँमा समर्पित गरेका थिए। पञ्चायती व्यवस्थाको विरोधमा उनका हजुरबुबाले सर्वश्वसहित तीन वर्ष ( २०१८देखि २०२१ साल) सम्म जेलजीवन बिताएका थिए । युवा नेता ढकालका बुबा स्व। लोकप्रसाद पनि आजिवन नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे ।

जनसम्पर्क समितिको नेतृत्वको दौडमा रहेका ढकालले प्रवासमा नेपालीको हीतका पक्षमा आफूले काम गर्ने बताए। त्यस्तै अमेरिकामा रहेका लोकतन्त्रपक्षधर नेपालीहरुबीच एकता र सौहार्दता कायम गराउन आफू सधैं सक्रिय रहने उनले बताए ।

उनले जनसम्पर्क समितिलाई बलियो र प्रभावकारी बनाउनुका साथै समग्र कांग्रेसको सांगठानिक संरचनालाई मजबुत बनाउन युवा नेतृत्वको खाँचो औल्याएँ ।

‘सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको अवस्था छ,’ उनले भने, ‘अमेरिकामा नेपालीको संख्या ठूलो छ, उहाँहरु सबैलाई लोकतन्त्रको छातामूनी ल्याएर कांग्रेसका पक्षमा उभ्याउन मैले अमेरिकामा अभियान चलाउने विचार गरेको छु ।’