काठमाडौँ, आइतबार, १४ मङ्सिर २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल क्षेत्रको विकासमार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउन सकिने पर्याप्त सम्भावना रहेको बताउनुभएको छ ।

अबको युग डिजिटल अर्थतन्त्रको युग भएकाले डिजिटल क्षेत्र विश्वकै नयाँ र उच्च दरको आर्थिक वृद्धिको माध्यम हुनसक्ने सम्भावना आफूले देखेको उहाँले स्पष्ट पार्नुभयो । खासगरी विषम परिस्थितिमा डिजिटल प्रविधिको प्रयोग र औचित्य पुष्टि भएको उहाँले बताउनुभयो ।

शनिबार दिनभर जारी ‘डिजिटल इकोनोमी कन्क्लेभ’को उद्घाटनका क्रममा उहाँले भन्नुभयो, “समयलाई चिनेर डिजिटल प्रविधिको प्रयोग र विकास सुरु नगरेको भए कोभिडको समयमा आज हामीले झन् कति धेरै कठिनाइको सामना गर्नुपथ्र्याे ?” भन्ने प्रश्न गर्दै कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्स, अनलाइन सपिङ, डिजटिल बैङ्किङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप आमजीवनको अङ्ग बनेको उहाँले बताउनुभयो । यी कुराले नै नेपाललाई डिजिटल युगमा प्रवेश गर्ने आधार दिएको उहाँको भनाइ थियो ।

डिजिटल नेपाल निर्माणका लागि सरकारले निरन्तर काम गरिरहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । मेरो नेतृत्वको सरकारले पहिलोपटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरेर कार्यान्वयनमा ल्याइसकेको पनि म स्मरण गराउन चाहन्छु, उहाँले भन्नुभयो ।

सरकारले तयार गरेको उक्त खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी आठ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ । यसका साथै नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० वटा डिजिटल पहल पहिचान गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्